सन्दिपसहित आइसीसी टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा
एक्सन खबर
काठमाडाैं, ११ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा गरेको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि क्यानले १५ सदस्यीय नेपाली टिमको घोषणा गरेकाे हाे ।
रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।
यसअघि सम्पन्न त्रिकोणात्मक टी २० आई सिरिज नखेलेका सन्दीपले विश्वकप छनाैट खेल्नेछन् । बलात्कारकाे आराेप खेपिरहेका सन्दीपले परिवारसँग समय विताउन सिरिज खेलेका थिएनन् ।
विश्वकप क्रिकेटको एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट खेल मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । ८ देश सहभागी हुने खेलमा २ समूह बनाइएकोमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा मलेसिया, ओमन र सिंगापुर छ । समूह ‘ए’ का सबै खेल कीर्तिपुर, त्रिवि मैदानमा हुनेछ ।
समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छ । समूह ‘बी’का सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्ने कार्य तालिका छ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।
0 प्रतिकृया