आइसिसी टी-२० विश्वकप छनाैटमा नेपालकाे सुखद् सुरूवात, सिंगापुर पराजित
एक्सन खबर
काठमाडाैं, १३ कार्तिक । नेपालले आइसिसी टी-२० विश्वकप छनाैटमा सुखद् सुरूवात गरेकाे छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरमाथि ८ विकेटको सहज जित निकाल्दै नेपालले विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सुखद् सुरूआत गरेको हाे ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पार गर्दा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ४८ बलमा ७४ रन बनाए । उनले साे क्रममा ८ चौका र २ छक्का प्रहार गरे ।
नेपालका अर्का ओपनर आसिफ शेखले २६ बलमा २७ रन बनाउँदा २ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोडे । खेलमा एक बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गर्दै सिंगापुरले दिएकाे लक्ष्य पुरा गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्दा रोहन रंगराजनले सबैभन्दा बढी ४६ रन बनाए । सिंगापुरले पहिलो ओभरमै कप्तान अरित्रा दत्तलाई शून्यमा गुमाएकाे थियाे ।
सन्दीप लामिछानेले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गर्दै दाेश्राे विकेट लिए । गुल्सन झाले आठौं ओभरमा २ विकेट लिए । गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए । गुल्सनले अमार्त्य कौललाई शून्यमा आउट गरे ।
सन्दीपले जनकप्रकाशलाई ७ रनमा एलबिडब्लूको धरापमा पार्दा अभिनाश बोहराले १८औं ओभरमा दुई विकेट लिने क्रममा थिलिपनलाई १ रन र अनन्थ कृष्णालाई शून्यमा क्याच आउट गराउन सफल भए । त्यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले इनिङ्ग्सको दोस्रो बलमै बोल्ड गरे । अन्तिम ओभरमा अभिनास बोहराले अर्भवीर चौधरीलाई ३७ रनमा आउट गरे ।
बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिँदा गुल्सन झा, करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए । समूह 'ए' मा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । अब नेपालले भोलि मलेसियासँग दिउँसो १:३० त्रिवि मैदानमै खेल्नेछ । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ ।
0 प्रतिकृया