‘नेपालकाे शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघकाे साथ छ’ महासचिव एन्टोनियो गुटेरेस
एक्सन खबर
काठमाडौं, १४ कार्तिक । नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले सन्तोष व्यक्त गर्दै संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा संयुक्त राष्ट्रसंघले सहयाेग गर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगल संघीय सदनकाे संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपाली नेतृत्वसँग राष्ट्रसंघकाे सद्भाब रहने बताएका हुन् ।
‘शान्ति र प्रगतिको यात्रामा तपाईंहरु एक्लै हुनुहुन्न । नेपाली नेतृत्वसँग राष्ट्रसंघ सँगै छ, संक्रमणकालीन न्यायमा पीडित केन्द्रीत प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईंहरुको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ ।’ उनले भने ।
गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा योगदान दिने देशमध्ये नेपाल अग्रपंक्तिमा रहेकाे उल्लेख गर्दै विश्वमा शान्ति स्थापनाका क्रममा विभिन्न मुलुकमा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाउने नेपाली सेना, प्रहरी लगायत योद्धाहरुको सम्झनामा एक मिनेट मौनधारण आह्वान गरे ।
गुटेरेसको आह्वानमा दुवै सदनका सांसदहरुले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरुप्रति मौनधारण गरेका थिए । गुटेरेसले पश्चिम एसियामा भइरहेको द्वन्द्वलाई आफूले नजिकैबाट हेरिरहेको भन्दै हमासको क्रुर आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाउने नेपालीहरुप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरे ।
उनले त्यस क्रममा बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीबारे चासो राख्दै उनको सुरक्षित रिहाइको कामना पनि गरे । नेपालका नागरिकको मुस्कान, सांस्कृतिक विविधताको प्रशंसा गर्दै उनले नेपाली नेतृत्वले अगाडिका दिनहरुमा नेपाली समाजलाई अझै राम्रो बाटो देखाउँदै जाने, त्यसमा विश्वले नै साथ दिने जिकीर गरे ।
यस्तै उनले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झेल्नुपरेको सगरमाथा आधारशिविरदेखि विभिन्न ठाउँमा गएर आफूले आफ्नै आँखाले जलवायु संकट देख्न पाएको बताए । ‘जलवायु परिवर्तनले विश्व नै आक्रान्त बनिरहेका बेला नेपालले चालिरहेका प्रयासको म सराहना गर्छु, वनविनाश हुन नदिइकन भइरहेका संरक्षण प्रयासहरुले सकारात्मक प्रभाव पार्नेछन् । हिमालहरुमा सूर्यको प्रकाश देख्न पाइरहनेछौं भन्ने आशा छ ।’
महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताए । ‘पानीले भरिएका ताल फुट्दैछन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् । पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ,' महासचिव गुटेरेसले भने ।
हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गर्दै ती जसरी संकुचित हुन्छन् त्यसरी नै नदीहरू बग्ने बताए । भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुने जिकीर गर्दै उनले भने,‘नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ । यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन् । लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ । पानी तथा जमिनको लागि भयंकर प्रतिस्पर्धा हुनेछ ।'
0 प्रतिकृया