Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


रिगललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतद्वारा बदर, रिगल पक्राउ

एक्सन खबर
कार्तिक, १६, २०८०


रिगललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतद्वारा बदर, रिगल पक्राउ

काठमाडौं, १६ कार्तिक । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । बिहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । रिटमाथि सुनुवाइ गर्दै अदालतले कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् । दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकी थिइन् भने १३ कात्तिकमा अनशन स्थलमै उनी बेहोस समेत भएकी थिइन् ।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर, संविधान दिवसको अवसरमा गत असाेज ३ गते सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए । रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।

रिगल पक्राउ

सर्वाेच्चकाे फैसलासँगै प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ । रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ ।













0 प्रतिकृया