भूकम्प पीडितलाई भैरहवाका मेयरले ६ महिनाकाे सुविधा प्रदान गर्ने घोषणा
भैरहवा, २० कार्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले ६ महिनाको सुविधा बराबरको रकम प्रदान गर्ने घाेषणा गरेका छन् । आफूले पाउने ६ महिनाकाे सेवा सुविधा वापतकाे २ लाख ३४ हजार रुपैयाँ भूकम्प पीडितलाई प्रदान गर्ने मेयर खाँले घोषणा गरेका हुन् ।
मेयर खाँले भूकम्प पीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भनेर ६ महिनाको सुविधा बराबरको रकम दुवै जिल्लाका पीडितहरुलाई समान रुपमा प्रदान गर्ने बताएका हुन् । खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मेयर खाँले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने जनाएको छ ।
यस्तै, सिद्धार्थनगर नगरपालिका कार्यालयको साथै नगरको विभिन्न संघसंस्थाको सहयोगमा कम्बल, चामल, चाउचाउ, फुरनदाना, सिरक, लत्ताकपडा जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरी भुकम्प प्रभावित जाजरकोट जिल्लामा पठाइएकाे छ ।
राहत सामग्रीका साथै भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा कार्यालय, जनप्रतिनिधि र कर्मचारीवर्गबाट गरि कुल २२ लाख ५४ हजार ५ सय नगद रुपैयाँ पनि पठाउने भनिएकाे छ ।
0 प्रतिकृया