Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


सिंहदरबारमा गणतन्त्रवादी दलहरूकाे बैठकमा के भयाे ?

एक्सन खबर
कार्तिक, २१, २०८०




सिंहदरबारमा गणतन्त्रवादी दलहरूकाे बैठकमा के भयाे ?

काठमाडाैं, २१ कार्तिक । पछिल्लाे समय गणतन्त्रमाथि लगातार प्रहार हुन थालेपछि गणतन्त्रवादी दलहरूले त्यसकाे प्रतिकार गर्ने तयारीमा जुटेका छन् । राजतन्त्रवादी र दुर्गा प्रसाइँहरूले लगातार गणतन्त्र प्रति विषबमन गरिरहँदा गणतन्त्र कमजाेर बन्दै गएकाे भन्दै दलहरूका शीर्ष नेताहरू एक जुट भएका हुन् । यद्यपि, दलहरूले गणतन्त्र कमजाेर बनेकाे निष्कर्ष चैं निकालेनन् ।

मंगलबार सिंहदरबारमा गणतन्त्रवादी दलका शीर्ष नेताहरूले छलफल गर्दै गणतन्त्रमाथि लगातार प्रहार हुन थालेकोले मिलेर प्रतिवाद गर्ने सामूहिक प्रतिबद्धता जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२ साल मंसिर ७ गते १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलका नेताहरूलाई बोलाएर गणतन्त्रका पक्षमा एकता हुनुपर्ने भन्दै छलफल गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईलगायत नेताहरू सहभागी रहेका थिए ।

छलफलमा भाग लिएकी नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, आन्दोलन, संविधानसभाबाट संविधान लेखनका पक्षधर परिवर्तनकारी राजनीतिक दलका नेताहरू गणतन्त्रका पक्षमा एकजुट रहेकाे सन्देश दिन खाेजिएकाे बताइन् । ‘विभिन्न कोणबाट देखा परेका प्रहारहरूलाई मिलेर प्रतिवाद गर्ने सबैको अभिव्यक्तिबाट निष्कर्ष निस्किएको छ, गणतन्त्रप्रति दलहरू प्रतिबद्ध हुनुहुन्छ ।’ भुसालले भनिन् ।

बैठकमा शान्ति प्रक्रियाका बाँकी काम छिटो पूरा गर्ने, बर्तमान राजनीतिक परिबेश, गणतन्त्रवादी दलहरू विचकाे एकता, सहकार्यका बारेमा पनि छलफल भएकाे थियाे । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले १२ बुँदे समझदारी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पार्टीहरूका बीचमा समसामयिक राजनीतिक परिवेश लगायतबारे छलफल गरेकाे जानकारी दिँदै बैठक पछि भने, ‘सरकारका कतिपय अकर्मण्यताका कारण मुलुकमा छाडातन्त्र मौलाइरहेको, विद्यमान शासकीय प्रबन्धमाथि अनेकौं खालको चुनौती आउने काम भइरहेको, गृह प्रशासन कमजोर भएको लगायतका विषयमा भनाइहरू राख्यौं, शान्ति, संविधान, विद्यमान व्यवस्था र जनतामा निराशा भइरहेको र भड्काउने र कपोलकल्पित प्रक्रिया चलिरहेको बारे दलहरूलाई अवगत गरायाैं ।’

अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शान्ति प्रक्रिया छिटो टुंग्याउनेलगायत राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउन बैठक बाेलाइएकाे जनाउँदै लामो संघर्षबाट अहिलेको संविधान बनेकोले त्यसकाे रक्षा र संस्थागत गर्ने र राष्ट्रिय मुद्दाहरूमा साझा धारणासहित सँगै अघि बढ्ने कुराहरूमा छलफल केन्द्रित रहेकाे जनाए । अहिलेको व्यवस्थाप्रति कतैबाट पनि त्रास नरहेको दाबी गर्दै महतले जनताको अधिकारलाई अहिलेको व्यवस्थाले सुनिश्चित गरेकोले यो अधिकारबाट कोही बञ्चित हुन नचाहने जिकीर गरे ।

प्रधानमन्त्री दाहालले पछिल्लाे समय लाेकतन्त्र र गणतन्त्र विरूद्ध उठेका अावाजहरूका विरूद्ध भन्दा पनि विगत र वर्तमानकाे समिक्षा गर्न बैठक बसिएकाे जनाए । ‘यो कुनै सन्त्रासको कुरा होइन । समय आएको छ, सामान्य समीक्षा गरौं भनेर बैठक गरेको हो, कसैसँग पनि हामी तर्सेको छैनाैं ।’ गणतन्त्र, संविधान, शान्ति प्रकृयामा सबै दलहरू एकजुट रहेकाे उनकाे भनाइ छ ।

छलफलमा धारणा राखेका नेताहरूले गणतन्त्रमा प्राप्त उपलब्धिलाई थप सबल बनाउन आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।













0 प्रतिकृया