नक्कली कागजात बनाउने चार कन्सल्टेन्सीका सञ्चालक पक्राउ
काठमाडौं, २२ कार्तिक । उच्च शिक्षाका लागि विदेशमा पढ्न जानेहरुकाे किर्ते कागजात बनाउने धन्दामा संलग्न चार कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरिएकाे छ । नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार एसिई कन्सल्टेन्सी सञ्चालक अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली र एस. टु अबरोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं पक्राउ परेका हुन् ।
उनीहरूले उच्च शिक्षाका लागि विदेश जानेहरुको नक्कली कागजात बनाउँदै आएका थिए । सल्यान घर भएका बलबहादुर राउतकाे कागजपत्र बनाउने क्रममा उनीहरूलाई पक्राउ गरिएकाे हाे । राउत पनि पक्राउ परिसकेका छन् । यसमा प्रहरी जवान जीवलाल तामाङ समेत पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूबाट विभिन्न सरकारी कार्यायलका लेटरप्याड, स्ट्याम्प समेत फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले पुतलीसडक, बागबजार, डिल्लीबजार क्षेत्रमा रहेका कतिपय कन्सल्टेन्सीहरूमा पनि नक्कली कागजात बनाउने काम भइरहेकाे जानकारी पाएकाे छ । ति क्षेत्रमा रहेका कन्सल्टेन्सीहरू प्रहरीका निगरानीमा रहेकाे बताइएकाे छ ।
0 प्रतिकृया