लक्ष्मी पूजामा देश भित्रको विद्युत् माग अहिलेसम्मकै उच्च
काठमाडौं, २७ कार्तिक । । नेपाल विद्युत प्राधिकरणले यस वर्ष तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग १४३८ मेगावाट रेकर्ड गरेकाे छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।
यस वर्ष लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो । गत वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो । प्राधिकरणले यस वर्ष पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मी पूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले यसपटक रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । प्राधिकरणका अनुसार देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको छ । गत वर्ष लक्ष्मी पूजा पिक समयमा ४०६ मेगावाट भारत निर्यात गरिएको थियो ।
लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।
लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।
कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताउँदै गत वर्षभन्दा लक्ष्मी पूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको बताए । ‘गतवर्ष भन्दा लक्ष्मी पूजाकाे दिन पिक डिमाण्ड १० प्रतिशतले बढ्नु सकारात्मक हाे ।’ तामाङले भने ।
जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएतापनि प्राधिकरणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो ।
प्राधिकरणका स्वामित्वका अन्य विद्युत् गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमे लगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहहरुबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको जनाइएकाे छ ।
कुलमान घिसिङ प्राधिकरणकाे प्रमुख कार्यकारी निर्देशक भएर आएसँगै नेपालकाे विद्युत ब्यवस्थापन, प्रशासन र उत्पादनमा उल्लेखनीय सुधार भइरहेकाे छ । उनले लक्ष्मी पूजाकै दिनबाट नेपाललाइ लाेडसेडिङ मुक्त घाेषणा गरेका थिए ।
0 प्रतिकृया