Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


लक्ष्मीपूजाको दिन घर जल्दा उर्लाबारीमा ४ प्रहरीसहित २८ जना घाइते

एक्सन खबर
कार्तिक, २७, २०८०




लक्ष्मीपूजाको दिन घर जल्दा उर्लाबारीमा ४ प्रहरीसहित २८ जना घाइते

काठमाडौं, २७ कार्तिक । तिहारकाे लक्ष्मी पूजाका दिन मोरङको उर्लाबारीमा भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका छन् । भने, मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीबाट लाखौंको क्षति भएको छ ।

उर्लाबारीका दीपक कार्कीको घरमा रहेको सुन पसलमा लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन खटिएका प्रहरीहरु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले बताए । आगलागीबाट २८ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेकोमा उनीहरुको विराटनगर र बिर्तामोडका अस्पतालहरूमा उपचार भइरहेको छ ।

यस्तै, गएराति सुनसरी सदरमुकाम इनरुवा-१ को मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगो निभाइएको थियो ।

यसैगरी संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका-१ हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् । आगलागीबाट मानवीय क्षति भने नभएकाे संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।














0 प्रतिकृया