Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान राख्न महत्वपूर्णः प्रधानमन्त्री प्रचण्ड

एक्सन खबर
कार्तिक, २७, २०८०




पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान राख्न महत्वपूर्णः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ कार्तिक । तिहार लगायतका पर्वहरूले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न महत्त्वपूर्ण भूमिका रहने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास व्यक्त गरेका छन् ।

सोमबार तिहार पर्वको शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहेको भन्दै विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरूसमेत भएको बताए ।

‘नेपाली जनताको निकै ठुलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठुलो आधार प्रदान गरेको छ’, प्रधानमन्त्रीले भनेका छन् ।

उनले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने गहिरो विश्वास रहेकाे जिकीर गरेका छन् ।

नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएका पनि बताएका छन् । ‘यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन्’, प्रधानमन्त्रीको भनाइ छ ।

तिहार लगायतका पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्त्वपूर्ण सन्दर्भसमेत भएकाले यस पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउने प्रधानमन्त्रीको भनाइ छ ।

‘उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपन्छीहरूको योगदान र मानिससँगको अन्तरक्रिया प्रगाढ बनाउँछ । देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुग्दछ’, प्रधानमन्त्रीले शुभकामना दिँदै भनेका छन् ।

यता, राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ ।














0 प्रतिकृया