टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, सत्तारूढ दलबाटै विराेध
काठमाडौं, २७ कार्तिक । सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दीादै नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको बताइन् । 'नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,' सञ्चारमन्त्री शर्माले भनिन् ।
लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने, पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकाे हाे ।
अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
तर, सरकारकाे याे निर्णयकाे सत्ताधारी दलहरूबाटै विराेध भइरहेकाे छ । नेपाली कांग्रेसका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता डाक्टर शेखर काेइराला, सांसद सुनिलकुमार शर्मा, प्रदीप पाैडेल समेतले विराेध जनाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरूले टिकटकमाथि प्रतिबन्ध लगाउनु भन्दापनि नियमन गर्न जरूरी रहेकाे भन्दै मन्त्रिपरिषद्काे निर्णयकाे विराेध गरेका छन् ।
0 प्रतिकृया