एमाले बैठकः झुलाघाट–चुवाभञ्ज्याङ अभियानको कार्ययोजना पारित
एक्सन खबर
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा सुरु हुने झुलाघाट–चिवाभञ्ज्याङ अभियानको कार्ययोजना पारित गरेको छ । बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले मध्यपहाडी लोकमार्गमा सुरु हुने झुलाघाट–चिवाभञ्ज्याङ अभियानको कार्ययोजना पारित गरेको हो ।
अभियानको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर गर्नेछन् । अभियानको समापन भने पाँचथरको चिवाभञ्ज्याङमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
३ हप्तासम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् । पदयात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु टोलीमा रहनेछन् ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकारकै संलग्नता भएको आशंकासमेत व्यक्त गरेको छ । केन्द्रीय कमिटीको बैठकले तीन बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सत्ता गठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको ठहर छ ।
बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि र निराशा रहेको भन्दै गठबन्धन सरकार विरूद्ध सडकमा विद्राेह गर्नुपर्ने बताएका थिए । जनतामा देखिएको सरकारप्रतिको असन्तुष्टिलाई प्रतिगामी शक्तिहरुले व्यवस्था बदल्न उपयोग गर्ने खतरा देखिएकाले प्रतिवाद गर्न सडक विद्रोहमा जानुपर्ने ओलीकाे ठहर छ ।
शान्तिपूर्ण तरिकाले जनताको हस्तक्षेप बढाउनेबारे नेताहरुसँग छलफल गरिरहेको बताउँदै उनले देशलाई पछाडि फर्कन र प्रतिगमनतिर जाने निकम्मापन स्वीकार्य हुन नसक्ने बताएकाे एक केन्द्रीय सदस्यले भने । ‘एमाले अब सदन र सडकबाट जनविद्रोहमा जानुपर्छ भन्ने अध्यक्षको भनाइकाे सार छ’ झुलाघाट–चिवाभञ्ज्याङ पछि केन्द्रीय कमिटी बैठक बसेर संघर्षको कार्यक्रमबारे निर्णय लिने अध्यक्षकाे भनाइ छ ।
0 प्रतिकृया