Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


‘कांग्रेस प्रचण्डसँग सती जान जरुरी छैन’ सांसद सुनिलकुमार शर्मा (भिडियाे सहित)

एक्सन खबर
मंसिर, ६, २०८०


‘कांग्रेस प्रचण्डसँग सती जान जरुरी छैन’ सांसद सुनिलकुमार शर्मा (भिडियाे सहित)

विराटनगर, ६ मंसिर । कांग्रेसले प्रचण्डसँग सती जान जरुरी नरहेको नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद सुनिलकुमार शर्माले बताएका छन् । प्रचण्डसँग कांग्रेसले सहकार्य गर्दा काग्रेस कमजोर भएको बताउँदै सांसद शर्माले कांग्रेस आफ्नो सिद्धान्तमा रहनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस मोरङ जिल्ला सम्मेलनलाई संवोधन गर्दै डाक्टर शर्माले माओवादीसँग भएको एलाइन्स कत्तिको सान्दर्भिक छ भन्ने कांग्रेसले बुझ्नु पर्नेपनि बताए । ‘माओवादीसँग भएको एलाइन्स कत्तिको सन्दर्भिक छ, नेपाली जनताको पक्षमा छ वा नेपाली जनताको विपक्षमा छ भन्ने कुराको र्निक्यौल केन्द्रीय नेताहरुले समयमा गर्नुस् भन्ने आग्रह हो । प्रचण्डसँग सती जान जरुरी छैन ।’

कांग्रेसले आफ्नो सिद्धान्तमा टेकेर विगतमा गिरिजा, वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईहरु जस्तै जनताप्रति जवाफदेही भएर पार्टी सञ्चालन गरेको खण्डमा मिसन २०८४ मा दुई तिहाई मत ल्याउन कांग्रेसलाई गाह्रो नभएको सांसद शर्माको दावी छ । ‘सिद्धान्तमा टेकेर जनताप्रति जवाफदेही भएर विगतमा गिरिजा, वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईहरु जस्तै जनताप्रति जवाफदेही भएर पार्टी सञ्चालन गरेको खण्डमा मिसन २०८४ मा मुलुकमा २ तिहाई मत ल्याउन कांग्रेसलाई गाह्रो छैन ।’ उनले भने ।



सांसद शर्माले कांग्रेसमा नेताहरु बिग्रिने अवस्थामा पुगेको प्रति चिन्ता पनि ब्यक्त गरे । ‘कार्यकर्ता विग्रिएका छैनन्, हामी नेताहरु विग्रिने अवस्थामा पुगेका छौं । जहाँ जहाँ समस्या छ जहाँ जहाँ प्वाल परेको छ, त्यो प्वाल परेको ठाउँमा टाल्न जरुरी छ ।’

कांग्रेसले पाएको मुख्यमन्त्रीको सिट केन्द्रीय नेताहरुले माओवादीको पोल्टामा फालेकाले आफुहरुले कोशी प्रदेशमा विद्रोह गरेको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा बनेको संविधानमा लेखिएको धारालाई टेकेर संविधानले दिएको अधिकारलाई नेपाली कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतले प्रयोग गरिएको पनि बताए ।  

कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताए । कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको उल्लेख गरे ।

‘देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको छ, दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको छ । केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको छ ।’ उच्च नैतिकता र आत्मविश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्ने भन्दै कोइरालाले भने ।

सम्मेलनमा कांग्रेस नेता महेश आचार्यले अहिले संसद संसदजस्तो र न्यायालय न्यायालयजस्तो नभएको टिप्पणी गरे । पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले कांग्रेसले आफ्नै योगदान बिर्सिएको बताउँदै कस्तुरीले आफ्नो वास्ना खोजे जसरी कांग्रेसले आफ्नै वास्ना खोज्दै हिंड्नु परेको उल्लेख गरे ।

सम्मेलनलाई केन्द्रीय सदस्य डा.डीला संग्रौला, अमृत अर्याल, भीम पराजुली, कोशी प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, सचिव ललित श्रेष्ठलगायतले बोलेका थिए ।

मोरङका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरू सहभागी सम्मेलनमा संघीय सरकारका खेलकुदमन्त्रीसमेत रहेका सभापति डिगबहादुर लिम्बूले राजनैतिक, सचिव मोदराज घिमिरेले सांगठानिक र कोषाध्यक्ष रञ्जु अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।














0 प्रतिकृया