Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


आज युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन, अत्यावश्यक भए मात्र निस्कन अनुराेध

एक्सन खबर
मंसिर, ७, २०८०


आज युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शन, अत्यावश्यक भए मात्र निस्कन अनुराेध

काठमाडौं, ७ मंसिर । आज राजधानीमा नेकपा एमालेकाे भातृ संगठन युवा संघ र  दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विरोध प्रदर्शन गर्दैछन् ।

बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्दा नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । एकै दिन २ समुहले प्रदर्शन गर्ने भएकाले उपत्यकाकाे ट्राफिक ब्यवस्थापन र सुरक्षा चुनाैति छ ।

युवा संघले महंगी, भ्रष्टाचार विरूद्ध गठबन्धन सरकार निष्प्रभाबी भएकाे, मुलुकमा अराजकता बढेकाे, शान्ति सुरक्षा, सुशासन कायम गर्न सरकार अपफल भएकाे भन्दै प्रदर्शन गरेकाे हाे । भने, आफुलाई नागरिक अभियान्ता भन्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाकाे ब्याजदर महंगाे भएकाे, २० लाख भन्दा मुनीकाे बैंककाे ऋण मिनाहा हुनुपर्ने, राजतन्त्र स्थापना हुनुपर्ने लगायतका माग अगाडी सारेर प्रदर्शन गर्दैछन् ।

प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ । प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् ।

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ ।

काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । भने, ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । ट्राफिक प्रहरीले अत्यावश्यक परेमात्र सवारी साधन लिएर निस्कन अनुराेध गरेकाे छ । राजधानीका करिब २ सय शैक्षिक संस्थाहरूले स्कुल कलेज बन्द गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको तथा एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालन गर्नेछ ।

प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले गर्दैछन् । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।













0 प्रतिकृया