Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


मुलुककाे अग्रगतिकाे लागि एमाले अब चुप लागेर बस्दैनः सांसद याेगेश भट्टराई

एक्सन खबर
मंसिर, १०, २०८०


मुलुककाे अग्रगतिकाे लागि एमाले अब चुप लागेर बस्दैनः सांसद याेगेश भट्टराई

काठमाडाैं, १० मंसिर । अहिलेकाे सरकारलाई लामाे समय राखिरहनुकाे औचित्य नभएकाे नेकपा एमालेका सचिव तथा सांसद् याेगेश भट्टराईले बताएका छन् । गृह जिल्ला ताप्लेजुङमा आइतबार विहान आयोजित पत्रकार भेटघाटमा बाेल्दै सचिव भट्टराईले अहिलेकाे सरकारले संविधान र लाेकतान्त्रिक व्यवस्थाकाे रक्षा गर्न नसक्ने भएकाले यसलाई राखिरहनुकाे औचित्य नहुने बताए ।

सरकारकारले अराजकता नियन्त्रण गर्न र सामाजिक सद्‍भाव कायम गर्न नसकेकाे भट्टराईले जिकीर गरे । 'अराजकता किन मच्चिँदैछ समाजमा, ठाउँठाउँमा जातीय विद्वेष फैलाउने काेशिस हुँदैछ, नेपालगञ्ज र मलंगवामा किन हिन्दू मुस्लिम भिडाउन खाेजिँदैछ ? यसमा सरकार पूरै असफल भएकाे छ, त्यसकारण यस सरकारलाई लामाे समय राखिरहनुपर्ने औचित्य छैन’ बर्तमान सरकारले संविधानकाे रक्षा र अहिलेकाे लाेकतान्त्रिक व्यवस्थाकाे रक्षा गर्न नसक्ने भट्टराईकाे ठहर छ ।

गणतन्त्रमाथि प्रश्न उठाइँदा र लाेकतान्त्रिक व्यवस्थामाथि प्रहार हुँदा सरकार, सरकारकाे नेतृत्व गर्ने दल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रमिते बनेर बसिरहेकाे भन्दै आपत्ति जनाएका भट्टराईले अहिलेको परिस्थिति सम्हाल्न नसके सरकार छोड्न समेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । 'एमाले र अर्काे कुनै सडकमा हिँड्छन् आनन्दले सत्ता चलाउँछु भन्ने ठान्नुभएकाे हाेला, त्याे दिवास्वप्न हुन्छ, यस्ताे तरिकाले सरकारमा बसिरहनु नैतिक हिसाबले पनि ठिक हुँदैन, यदि परिस्थिति सम्हाल्न सक्नुहुन्न आजकाे भने सरकार छाेड्नुस्, प्रधानमन्त्रीले छाेड्नुस् ।' भट्टराईले भने । एमाले सरकार चलाउनका लागि तयार रहेकाे बताउँदै सचिव भट्टराईले प्रचण्डले सरकार छाडे त्यसपछि काे-काे मिलेर सरकार चलाउने एमाले अगाडी बढ्ने बताए ।

राजतन्त्र पर्काउँछाैं र गणतन्त्र अन्त्य गर्छाैं भन्नेहरुप्रति सरकारकाे धारणा के हाे भन्ने प्रष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गर्दै सचिव भट्टराईले भने, 'आज सरकार, सरकारकाे नेतृत्व गर्ने दल, नेता र प्रधानमन्त्री रमिता हेरिरहनुभएकाे छ, ज्ञानेन्द्र शाहले गरेका गतिविधिप्रति सरकारकाे धारणा के हाे ? तथाकथित दुर्गा प्रसाईंलाई उचालेर काठमाडाैंमा गरेको प्रदर्शनप्रति सरकारको धारणा के हो ? राजतन्त्र फर्काउँछु भन्नेहरुप्रति सरकार के भन्छ ? गणतन्त्र अन्त्य गर्छु भन्नेहरुप्रति प्रचण्डजी के भन्नुहुन्छ ? धर्म निरपेक्षता र संघीयता खारेज गर्छाैं भन्नेहरुप्रति उहाँले के भन्नुहुन्छ ? उहाँले के कदम चाल्नुहुन्छ ? हामी सरकारलाई सोध्छाैं, प्रधानमन्त्रीलाई साेधिराखेका छौं, तपाइँ के गर्नुहुन्छ ?'

भट्टराईले अहिले देशमा देखिएकाे रमिता हेरेर नबस्न नेपाली कांग्रेसलाई सुझाव दिए । 'म नेपाली कांग्रेसलाई अपिल गर्न चाहन्छु, लाेकतान्त्रिक पार्टीले तमाम रमिता हेरेर किन बसेकाे छ ? यसप्रति कांग्रेसकाे धारणा के हाे ? ००७, ०४६, ०६२-०६३ जस्तै एकपटक कांग्रेस र एमाले मिलेर जानुपर्ने हाे कि आउनुस् न छलफल गराैं, परिस्थिति त निक्कै डामाडाेल भएकाे छ, अर्थतन्त्र डामाडाेल भएकाे छ'- भट्टराईले भने ।

०२८ सालपछि राजश्व अनुमान भन्दा तल झरेकाे पहिलाे पटक भएकाे भन्दै उनले कर्मचारीलाई तलब दिन सरकारले भर्खरै ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएकाे बताए । अर्थतन्त्र धराशायी हुँदा खाेइ हस्तक्षेप गरेकाे भन्दै सचिव भट्टराईले प्रधानमन्त्रीलाई प्रश्न गरे । सरकारले लगानीकाे वातावरण बनाउन नसकेकाे र अराजकता नियन्त्रण गर्न नसकेकाे बताउँदै उनले प्रश्न गरे-'विदेशी लगानी आयाे ? स्वदेशी लगानीकर्ताका लागि सरकारले वातावरण बनायाे ?'

एमालेलाई कमजाेर नबनाएसम्म देश कमजाेर पार्न सकिँदैन भन्ने तत्वहरुले एमालेमाथि निरन्तर आक्रमण गरिरहेकाे भट्टराईकाे दाबी छ । 'आजकाे संविधान आजकाे व्यवस्था, गणतन्त्र, लाेकतन्त्र, संघीयता, बहुदलीय व्यवस्थाकाे सबैभन्दा पहरेदार काे हाे त भन्दा एमाले, जातीय एकतालाई भत्किन नदिने, धार्मिक सद्‍‍भाव भत्किन नदिने काे हाे त भन्दा एमाले हाे, एमाले जस्ताे बलियाे पार्टीलाई कमजाेर नबनाइकन कुनै पनि शक्तिकाे इच्छा पूरा हुँदैन भनेर एमालेमाथि आक्रमण भएकाे छ ।'

देश, जनता र व्यवस्थामाथि प्रहार हुँदा एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै भट्टराईले एमाले संयम रहेकाे र संयततासाथ आफ्नाे कुरा भनिराखेका बताउँदै एमाले सधैं चुप लागेर चैं नबस्ने बताए । ‘एमाले सधैं चुप लागेर बस्दैन, आवश्यक परे सडकमा निस्केर त्यसकाे प्रतिवाद गर्छ, त्याे एमालेकाे लागि हाेइन मुलुककाे अग्रगतिकाे लागि हाे'- भट्टराईले भने ।

कांग्रेसलाई गम्भिर हुन आग्रह गर्दै उनले एमालेमाथि प्रहार हुँदा कांग्रेस पनि नजाेगिने बताए । 'एमाले जाेगिँदैन भने कांग्रेस कसरी जाेगिन्छ ? एउटै व्यवस्थाका प्रतिनिधि हाेइनाैं त हामी ? कांग्रेसले गम्भिरतापूर्व साेचाेस् ।' उनले भने ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई जस्केलाबाट नछिरी सक्रिय भई खुला राजनीतिमा आउन भट्टराईकाे चुनौति छ । पूर्व राजालाई, सुरक्षा, आवाससहितको सुविधा दिइएकाे भन्दै उनले राजनीतिक अधिकारका लागि सडकमा आउने हो भने जस्केलाबाट नभइ मूलढाेकाबाट आउन शाहलाई चुनाैति दिए ।













0 प्रतिकृया