सङ्कल्प यात्रा नागरिकसँग प्रत्यक्ष संवादको लागिः केपी शर्मा ओली (भिडियाे सहित)
एक्सन खबर
काठमाडौं, १० मंसिर । मङ्सिर १४ बाट एमालेले आयोजना गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा नागरिकसँग प्रत्यक्ष संवादको लागि आयोजना गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश जारी गर्दै ओलीले जनतामा बढेको अन्योल र निराशा चिर्न तथा युवा पलायनको समस्या समाधानको लागि नागरिकसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानको बाटो खोज्न यात्रा आयोजना गरिएको बताएका छन् ।
वर्तमान सरकार व्यवहारमा सफल हुन नसकेको अवस्थामा देश समस्याग्रस्त बन्दै गएकोले यसको कारण र समाधानको उपाय नागरिकबाट खोज्न यात्रा आयोजना गरिएको ओलीले बताएका छन् । पश्चिमको झुलाघाटबाट सुरु गरेर पूर्वको चिवाभञ्ज्याङसम्मका नागरिकको राय संकलन गर्न यात्रा आयोजना गरिएको ओलीकाे दाबी छ ।
‘जनतामा अन्योल र निराशा बढ्दै गएको छ, युवाहरु पलायन भइरहेका छन्, सरकार व्यवहारमा सफल देखिन सकेन, देश समस्याग्रस्त बन्दै गएको छ, यसको कारण के हो र यसको समाधान कसरी निस्किन्छ ? यस सन्दर्भमा प्रत्यक्ष रुपमा जनतासँग संवाद गर्न हामी यही मंसिर १४ गते बिहानबाट महाकाली किनार झुलाघाटबाट चिवाभञ्ज्याङ पूर्वको सिमानसम्मको यात्रा गरिरहेको छौँ’, ओलीले भनेका छन् ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा समृद्धिको यात्रा भएको बताउँदै ओलीले यात्रा सफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।
0 प्रतिकृया