रसुवाको गौकुण्डमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १२ मंसिर । काठमाडौं मेडिकल कलेजले रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिनामंगल स्थित केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत रसुवाको गौकुण्ड गाउँपालिका वडा नं. ३ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
वाईपेन युएन प्रोजेक्ट नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ७५३ जनाको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १०१ जनाको इसिजी, १२७ जनाको भिडियो एक्सरे १२२ जनाको ल्याब परीक्षण गरिएको छ । साथै, शिविरमा आएका १३ जनाको दाँत खोलिएको र ४४ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।
नेपाली कांग्रेसका प्रभावशाली सांसद डाक्टर सुनिलकुमार शर्माको केएमसीले ३ वर्षदेखि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा हज्जारौं नागरिक लाभान्वित भइरहेका छन् । स्वास्थ्य सेवा आम नागरिकको घरदैलोसम्म पुग्नुपर्छ भन्ने सांसद शर्माको भावना अनुरुप नियमितरुपमा निःशुल्क स्वास्थ्य शिविर गरेको केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताइन् ।
नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति, बाल रोग सम्बन्धी केएमसीका दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेका छन् । स्वास्थ्य संस्थाहरु सहरमुखी र पैसामुखी भए भन्ने आरोप लागिरहँदा केएमसीले भने गाउँगाउँ पुगेर सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको कार्यकारी अध्यक्ष शर्माको भनाई छ ।
0 प्रतिकृया