झुलाघाटबाट एमालेकाे महाकाली-मेची अभियान सुरू
एक्सन खबर
काठमाडौं, १४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरे ।
उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन सहयाेग पुग्ने तथा एमालेले अगाडी सारेर सुखी नेपाली समृद्ध नेपालकाे अभियानलाइ सहयाेग पुग्ने बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनकाे भनाइ छ ।
सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरमुकाम गोठालापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । अभियानका क्रममा १४ भन्दा बढी ठाउँमा कोणसभा र दर्जनौँ स्थानमा भेटघाट, अन्तरक्रिया र जनतासँग प्रत्यक्ष संवाद हुनेछ । त्यस क्रममा एमालेले जनताका गुनासा, अपेक्षा सुन्ने र समाधानको प्रयास गर्ने जनाइएको छ ।
एमालेले गर्ने कार्यक्रम स्थलहरूः
१. बैतडी– गोठालापानी
२.डडेलधुरा –अमरगढी
३.अछाम –मंगलसेन
४. दैलेख– राकम
५.सुर्खेत –सुर्खेत बजार
६.रुकुमकोट –वामी टक्सार
७. पर्वत –कुश्मा
८.गोरखा –सुन्दरबजार
९.नुवाकोट –विदुर
१०.काभ्रेपलाञ्चोक –मण्डन
११.दोलखा –चरिकोट
१२.ओखलढुङ्गा –हर्कपुर
१३.तेह्रथुम –वसन्तपुर
१४.पाँचथर– फिदिम
गत मङ्सिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकले अभियानको कार्य योजना पारित गर्दा यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटी सदस्य र तोकिएका व्यक्ति टोलीमा रहनेछन् ।
एमाले प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अभियानका क्रममा नेताहरूका सवारीसाधनका अतिरिक्त चार वटा विशेष टिम हुनेछ । जसमा एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मत सम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चार वटा गाडी सहभागी हुनेछन् ।
अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्ने भनिएकाे छ ।
0 प्रतिकृया