स्वास्थ्य बीमा बोर्डमा डा. लोहनी, परिषदमा शर्मा नियुक्त
एक्सन खबर
काठमाडाैं, १४ मंसिर । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरिएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. लाेहनीलाई नियुक्त गरेको हो । उनी चार वर्षकाे लागि बाेर्डकाे अध्यक्षमा नियुक्त भएका हुन् । डा. लाेहनी अवकास प्राप्त चिकित्सक तथा पूर्व अतिरिक्त स्वास्थ्य सचिव हुन् ।
त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा सुबोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले परिषद्काे अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निर्णय भएकाे जानकारी दिइन् ।
बैठकले माल्दिभ्सको मालेमा २०८० मंसिर २७–२८ मा आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई सहभागी हुन स्वीकृति दिएको छ । भने, राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश राजनबहादुर भट्टराई, विराटनगरको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने, काठमाडौंको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तोक्ने निर्णय गरेकाे छ ।
यसैगरी, मन्त्रिपरिषद्ले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोकेको छ । विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई र सदस्य पदमा उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई तोक्ने निर्णय गरेको छ ।
मंसिर २४–२५ मा कतारको दोहामा आयोजना हुने दोहा फोरम २०२३ मा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । रोमानियाको बुखारेसस्थित नेपाली अवैतनिक वाणिज्य दूत नवराज पोखरेललाई अवैतनिक वाणिज्य दूत पदबाट हटाउने निर्णय भएको छ ।
यसैगरी, नेपाल सरकारको नाममा रहेको सरकारी जग्गा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणार्थ पर्सागढी नगरपालिका पर्सालाई उपयोग गर्न स्वीकृति दिने, ३ हजार ९१९ वर्गमिटर सरकारी जग्गा गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ सुनिल स्मृति गाउँपालिका रोल्पालाई उपयोग गर्न स्वीकृति दिने र साउदी अरेबियाको रियादमा मंसिर २७–२८ मा हुने फर्स्ट ग्लोबल लेबर मार्केट कन्फरेन्समा सहभागिताको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वीकृति दिने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी रिक्त सदस्य पदमा अच्युतराज पहाडीलाई मनोनीत गर्ने निर्णय गरेकाे छ । सांस्कृतिक संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा चन्द्रकुमार राईलाई मनाेनयन गरेकाे छ ।
त्यसैगरी, राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक र सामाजिक सञ्जालको प्रयोगलाई नियमन, सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को गत मंसिर ७ गते बसेको बैठकले विद्युतीय सुशासन आयोगको रिक्त सदस्य पदमा पूर्णबहादुर कुँवरलाई नियुक्त गरेको छ । त्यस्तै १०० रुपैयाँ दरका १० हजार थान स्मारिका टिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने, खाद्य तथा पोषण सुरक्षा आयोजना दोस्रोका लागि विश्व बैंकमार्फत प्राप्त हुने २ करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि प्रवक्ता शर्माले बताइन् ।
यसैगरी, नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को अनुसूचीमा इलेक्ट्रोनिक्स्, कम्युनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङ र इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड अटोमेसन इन्जिनियरिङ विषयहरु थप गर्ने निर्णय भएको छ ।
0 प्रतिकृया