Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


६ अर्ब ६६ करोडमा सेयर बेचेर एनसेलबाट बाहिरियाे आजियाटा

एक्सन खबर
मंसिर, १५, २०८०


६ अर्ब ६६ करोडमा सेयर बेचेर एनसेलबाट बाहिरियाे आजियाटा

काठमाडाैं, १५ मंसिर । आजियाटाले आफ्नाे ८० प्रतिशत शेयर विक्री गरेकाे छ । एनसेल कम्पनीको आजियाटाकाे ८० प्रतिशत सेयर यूकेकाे स्पेक्ट्रलाइट युके लिमिटेडले किन्न सम्झौता भएको हाे ।

सिंगापुरमा बस्ने नेपाली सतिशलाल आचार्यकाे स्पेक्ट्रलाइट कम्पनीले एनसेलको ८० प्रतिशत सेयर किनेको हो । आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेसँगै उक्त कम्पनीले आजियाटासँग सम्झौता गरेको एनसेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअगाडि नै  आचार्यकाे सुनिभेरा क्यापिटल भेन्चर्स २० प्रतिशत सेयर रहेकाेमा अब उनीसँग शतप्रतिशत सेयर रहने छ । ‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्‍पेक्ट्रलाइट खुसी छ । दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु ।’ आचार्यले भनेका छन् ।

व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गर्दै कम्पनी बिक्रीमा राखेको थियो । आजियाटाले सन् २०१६ मा स्विडिस कम्पनी टेलिया सोनेरासँग एनसेलकाे सेयर किनेको थियो । त्यतिबेला आजियाटाले १ खर्ब ४३ अर्बमा किनेको सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा बेचेर आजियाटा बाहिरिएकाे हाे ।

सेयर विक्री गरेपनि आजियाटाले सन् २०२९ सम्म एनसेलले पाउने लाभांश पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजियाटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनसेलले गत आर्थिक वर्षमा ३९ अर्ब ८१ करोड आम्दानी गर्दा ५ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमाससम्ममा एनसेलले २८ अर्ब २७ करोड आम्दानी गरिसकेको छ ।

सन् २०२९ सम्म एनसेलको लाइसेन्स रहेकाेमा कानूनअनुसार त्यसपछि उक्त लाइसेन्स नेपाल सरकारको नाममा आउनेछ । लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने तथा त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्योपनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीले जनाएकाे छ ।

सन् २०२९ सम्मको व्यवसाय तथा दायित्वको जिम्मवारी एनसेलले लिने, विद्यमान र भविष्यमा एनसेललाई सरकारले कुनै कर दाबी गर्‍यो भने त्यो खरिदकर्ता स्पेक्ट्रलाइट युकेले बेहोर्ने गरी सम्झौता भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले दोहोरो कर लगाएका कारण सिर्जित वातावरण एवम् सन् २०२९ मा कम्पनीको मोबाइल लाइसेन्सको अवधि सकिँदै गएको अवस्थामा उक्त जोखिमलाई ध्यान दिएर आजियाटा नेपालबाट बाहिरिने निर्णय गरेको बताइएकाे छ ।

नेपालमा विदेशी लगानीको संरक्षणको वातावरण नरहेकाले कम्पनीले नेपाल छोड्ने निर्णय गरेको जनाएको छ । आजियाटाले सन् २०१६ मा १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत सेयर खरिद गर्दा नै विवाद उत्पन्न भएकाे थियाे ।  एनसेलले सरकारलाइ हालसम्म पुँजीगत लाभकरबापत ४७ अर्ब रुपैयाँ तिरिसकेको दाबी गरेपनि ठूला करदाता कार्यालयले थप ५७ अर्ब ९० करोड रुपैयाँ कर निर्धारण गरेको छ ।

एनसेलले ठूला करदाता कार्यालयकाे विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपनि फैसला हुन बाँकी छ ।













0 प्रतिकृया