नक्कली भुटानी शरणार्थी प्रकरणः ९ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर
एक्सन खबर
काठमाडाैं, १५ मंसिर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९ जनालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गरेको छ । मंसिर ५ गतेदेखि भएको निरन्तर सुनुवाइपछि शुक्रबार उच्च अदालतले ९ जना विरूद्ध जिल्ला अदालतको आदेश सदर गरेकाे हाे ।
निरन्तर १० दिन लामो सुनुवाइपछि उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गरी शुक्रबार आफ्नो आदेश सुनाएको हो । काठमाडौँ जिल्ला अदालतले यस प्रकरणमा गत असार १ गते आफ्नो आदेश सुनाएको थियो ।
शुक्रबार उच्च अदालतले प्रतिवादीहरु नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, पुर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका नेता टोपबहादुर रायमाझी, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले उक्त आदेश सदर गरेकाे हाे ।
काठमाडौँ जिल्ला अदालतले थुनामै राख्ने आदेश दिएका प्रतिवादीहरु नरेन्द्र केसीसँग १० लाख, हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियासँग १० लाख, सन्दीप रायमाझीसँग ३० लाख, टेकनाथ रिजालसँग १५ लाख र रामशरण केसीसँग १५ लाख धरौटी माग गरिएकाे छ ।
उच्चले यसअघि काठमाडौं जिल्ला अदालतले धरौटी लिई थुनामुक्त गरेको लक्ष्मी महर्जन र केशव तुलाधरलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । पहिले थुनामा पठाइएका आशिष बुढाथोकी र टंक गुरुङलाई पनि साधारण तारेखमै रिहा गर्न आदेश दिएको छ ।
प्रकरणका प्रतिवादी पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेश्रो न्यायाधीशको इजलासमा सुनुवाइका लागि पेश गर्ने आदेश भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले गत असार १ गते दिएको थुनछेकको आदेशविरुद्ध अभियुक्तहरुले उच्च अदालतमा बेरितको आदेश बदरको माग गर्दै निवेदन दिएका थिए ।
ठगी, कीर्ते, संगठित अपराध र राज्यविरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सुझाव दिएकोमा त्यही आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।
आरोपीमध्ये पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा नीरज भने अझै फरार छन् ।
0 प्रतिकृया