Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


सर्बिया, क्राेएसिया र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

एक्सन खबर
मंसिर, १६, २०८०


सर्बिया, क्राेएसिया र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, १६ मंसिर । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीले पिडितकाे उजुरीकाे अाधारमा उनीहरूलाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय दिपेश बास्कोटा, ललितपुर महालक्ष्मी नगरपालिका-९ लुभु बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएकी ४६ वर्षीया भवानी बोहरा र काठमाडौं १३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठ रहेका छन् ।

प्रहरीले बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय दिपेश बास्कोटालाई बिहीबार दिउँसो १७ लाख १७ हजार ३ सय रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।   

बास्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेकाे अभियाेग छ । पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ बाट पक्राउ गरेको हो ।   

यस्तैगरी, क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर लुभु बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएकी ४६ वर्षीया भवानी बोहरालाई पनि शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।      

बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको उजुरी छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभुबाट पक्राउ गरेको हो ।

यस्तै, वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं १३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरीले जनाएकाे छ ।















0 प्रतिकृया