सांसद सुनिल शर्माको पहलमा महावीर पुनकी छोरीलाई एमविविएस निःशुल्क पढाउने प्रस्ताब
एक्सन खबर
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख बैज्ञानिक महावीर पुनकी छोरीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क एमबीबीएस पढाउन प्रस्ताब गरिएको छ । चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षामा सामेल भइ उत्तीर्ण भएकी महावीरकी छोरी झरना पुनलाई व्यवस्थापन कोटामा नोबेल वा केएमसीमा निःशुल्क पढ्ने ब्यवस्था मिलाईदिन चिकित्सा शिक्षा आयोगमा पत्राचार गरिएको छ ।
चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिका कारण महावीर पुनकी छोरीलाई नेपालभरका मेडिकल कलेजमा एमबीबीएस विषयमा भर्ना पाउन कठिन बनेको अवस्थामा केएमसीले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको केएमसी र नोबेलका पूर्वअध्यक्ष हाल प्रतिनिधि सभाका सांसद डाक्टर सुनिलकुमार शर्माको अनुरोधमा निःशुल्क पढाउने प्रस्ताब राखेका हुन् ।
आइतबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई पत्र लेख्दै केएमसीले शैक्षिक सत्र २०८० मा एमबीबीएस विषयमा महावीर पुनकी छोरी झरना पुनलाई व्यवस्थापन कोटामा अध्ययन गर्न अवसर प्रदान गर्न भनेको छ ।
महावीर पुनले व्यक्तिगत वृत्ति विकासको असहजतालाई त्यागेर विदेशबाट नेपाल फर्की देशकै लागि केही गर्छु र देशका युवाहरुमा आधुनिक विज्ञानका आयामहरुको श्रृजनात्मक कार्यमा लगाउँछु भन्ने अठोट लिई निःस्वार्थ लागिपरेको पृष्ठभूमिमा उनकी छोरीलाई पनि पढाउने आफूहरुको दायित्व हुने ठानेर केएमसी र नोबेलका पूर्व अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद डा. सुनीलकुमार शर्माको सक्रियता र विशेष आग्रहमा उक्त कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्रावाससहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरिएको केएमसीका प्राचार्य प्रा.डा. रतिन्द्र नाथ श्रेष्ठले जनाएका छन् ।
केही दिनअघि सांसद शर्माले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँग भेट गरेका थिए । सो क्रममा पुनकी छोरी झरनाले चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षा पास गरी मेरिट लिस्टमा नाम निस्केपनि सिट नपाउँदा डा. शर्माले देशको बर्तमान अवस्थाका कारण भोली देशै नरहने होकी भन्ने चिन्ता लागेको बताएका थिए ।
0 प्रतिकृया