सशष्त्र प्रहरी विक हत्या प्रकरणः सांसद लक्ष्मी महतो कोइरीले पाए सफाई
एक्सन खबर
महोत्तरी । सशस्त्र प्रहरी थमन विकको हत्या अभियोगमा कर्तब्य ज्यान मुद्दाका आराेपित नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले आज उनलाई कर्तब्य ज्यान मुद्दामा सफाई दिएको हो ।
२०७२ सालको मधेस आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरी थमन विकको हत्या अभियोगमा उनी सहित २८ जनाविरुद्ध जिल्ला अदालत महाेत्तरीमा २०७५ साउन २५ गते कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले लक्ष्मी महतो कोइरीलाई सफाई दिएकाे तथा अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।
जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् भने, अर्का रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । जिल्ला अदालतले साधारण तारेखमा छाडेको काेइरीलाई पुनरावेदन अदालत जनकपुरले तारेख गुजारेको भन्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।
सोहीबीच एमालेका तर्फबाट महोत्तरी क्षेत्रनं. १ बाट निर्वाचन लडेका उनी माओवादीका गिरिराजमणी पोखरेललाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रकरणमा सफाइ पाएसँगै उनी अब संघीय सांसदमा स्वतः वहाल भएका छन् ।
मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन बिकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गर्दा घाइते बिकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।
0 प्रतिकृया