Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


‘एनसेल प्रकरणमा सरकारको संलग्नता छ’ केपी शर्मा ओली

एक्सन खबर
मंसिर, २८, २०८०


‘एनसेल प्रकरणमा सरकारको संलग्नता छ’  केपी शर्मा ओली

काठमाडाैं । एनसेल काण्डमा सरकार र राजनीतिक संलग्नता भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । तेह्रथुमको वसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड सरकार बनेपछि देशमा सुनदेखि एनसेलसम्मको काण्ड भइरहेको बताएका हुन् ।

मध्यपहाडी लाेकमार्ग अभियान अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे । उनले खर्बौँको कारोबार हुने र खर्बौँको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए ।

चार वर्षपछि एनसेल आफैं नेपालको नाममा आउँने भएपनि सरकारले  जालझेल गरेर अर्को कम्पनीमा कौडीको मोलमा नामसारी गरेर, कमिसन तन्त्रको जालोमा पारेर देशलाई खर्बौँको नोक्सानी पुर्याइएको ओलीकाे भनाइ छ ।

‘अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ । यसमा सरकारको संलग्नता नहुने कुरै भएन । खर्बौँको कारोबार, खर्बौँको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ । सयौँ गुणा फरक छ यसमा । यत्रो अन्तर पारेर देशलाई घाटा पारेर अब तीन, चार वर्षपछि एनसेल आफैँ नेपाल सरकारको अण्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा नामसारी गरेर कौडीका मोलमा नामसारी गरेर कमीसनतन्त्रको जालोबाट देशलाई लुटतन्त्रमा लगेको छ ।’ ओलीले सभामा भने ।

कमिसन र भ्रष्टाचारकाे जालाेबाट मुलुकलाई कसरी मुक्त गराउँने भन्नेमा एमाले गम्भीर रहेको बताउँदै ओलीले देशमा विकाससँगै सूशासन कायम गर्ने कार्यमा नेकपा एमाले मात्र प्रतिबद्ध रहेकाे जिकीर गरे ।  

उनले पहिचानवादीलाई संकेत गर्दै संवैधानिक र संवादको बाटोबाट टुंग्याउनुपर्ने कुरालाई पार्टी र व्यक्तिलाई केन्द्रीत गर्न खोजेकोप्रति असन्तुष्टि जनाए । शान्तिपूर्ण ढंगले आफ्नो विचार राखेर संवैधानिक बाटोबाट समस्याकाे समाधान खाेज्न ओलीले सल्लाह दिए । गलत बाटोबाट कोहीपनि सही ठाउँमा नपुग्ने ओलीको भनाई छ ।
















0 प्रतिकृया