त्रिविबाट विश्व रेकर्ड कायम गर्नेगरी एकै पटक ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित (फाेटाे फिचर सहित)
एक्सन खबर
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४ सय १५ जना दीक्षित भएका छन् ।
विश्वविद्यालयले विगतका वर्षहरूमा ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएकोमा याे वर्ष विश्व रेकर्ड कायम गर्ने गरी विद्यार्थी दीक्षित गरेकाे हाे । यसका लागि विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा दाबी प्रस्तुत गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आवेदन दिइएकाे त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जाेशीले बताए ।
दीक्षान्त समाराेहकाे गिनिज बुकका प्रतिनिधिले समारोहस्थलमै उपस्थित भएर मूल्याङ्कन गरेका थिए । समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल तथा प्रधानमन्त्री समेत रहेका विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरू दीक्षित भए ।
दिक्षान्त समाराेहमा बाेल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने बताए । यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान गर्दै उनले राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपील पनि गरेका छन् ।
विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण रहेकाे उल्लेख गर्दै प्रधानमन्त्रीले आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व र प्रतिस्पर्धाका चुनौतीहरू सम्बोधन गर्न नसकिने त्यसका निम्ति गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरूरी रहेकाे बताए । ‘मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश व्यक्तिहरू त्रिभुवन विश्वविद्यालयकै उत्पादन भएको स्मरण गराउँदै आगामी दिनमा समेत उक्त बिरासत कायम राख्दै थप सफलताका निम्ति क्रियाशील हुन निर्देशित पनि गर्दछु ।’ प्रधानमन्त्रीले भने ।
यस्तै उनले आफ्नाे तेस्रो कार्यकाल देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, अर्थतन्त्रमा देखिएका चुनौतीहरू सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गतर्फ अग्रसर गराउन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्थामा परिवर्तन ल्याउन निरन्तर क्रियाशील रहेकाे जिकीर पनि गरे ।
करिब १ वर्षको मेहेनत र क्रियाशीलताको परिणाम आज अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार हुँदै गएको भएपनि अपेक्षाकृत परिणाम हासिल गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति रहेकाे जनाउँदै प्रचण्डले सरकारको इमानदार प्रयासमा बौद्धिक युवा जनसमुदायको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धता रहनुपर्नेमा जाेड दिए ।
0 प्रतिकृया