Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा थप सहकार्य गर्ने

एक्सन खबर
पौष, २, २०८०


नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा थप सहकार्य गर्ने

काठमाडाैं । चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्ने उद्देश्य अनुरूप नेपाल प्रहरी अस्पताल महाराजगंज र काठमाडौं विश्वविद्यालयबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झौता-पत्रमा हस्ताक्षर गरे ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै आजको सम्झौताले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको चर्चा गरे । दुवै पक्षबीच एक आपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रमहरूमा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको र दुवै निकायको क्षमतामा थप वृद्धि हुने विश्वास उनले लिए ।

नेपाल प्रहरीको क्षमता अभिवृद्धि तथा कार्य सम्पादन प्रणालीलाई थप सबल बनाउन काठमाडौं विश्वविद्यालयबाट विगतदेखि प्राप्त भएको सहयोग र सहकार्यप्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक कुँवरले आगामी दिनमा सहकार्यका थप क्षेत्रको पहिचान र परस्पर सहयोगको लागि नेपाल प्रहरी तयार रहेको बताए । साे क्रममा उनले सम्झौता कार्यान्वयन गर्न आवश्यक संयन्त्रसहितको काम अगाडि बढाउन अस्पताल प्रशासनलाई निर्देशनसमेत दिए ।

 काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेशनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने बताए ।

सम्झौतापत्र अनुसार दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, एकअर्काको शैक्षिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकताहरूलाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमहरूको विकास र कार्यान्वयनका सम्भावनाहरू अन्वेषण गर्नेछन् ।

विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीहरूको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आ-आफ्ना संकायहरूका लागि संयुक्त प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने, अनुसन्धान निष्कर्षहरू, प्रकाशनहरू र शैक्षिक सामग्रीहरूसहित शैक्षिक जानकारी दिने, अनुसन्धान र शिक्षाको गुणस्तर बढाउन प्रयोगशाला सुविधाहरू, उपकरण र विधिहरूमा मात्र सीमित नभएर प्राविधिक विशेषज्ञताको साझेदारीलाई दुवै पक्षले सक्रिय रूपमा प्रवर्द्धन गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता हस्ताक्षर भएको दिनदेखि ५ वर्ष अवधिको लागि लागू हुनेछ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्रा.डा. मनोज हुमागाई लगायत अन्य प्राध्यापकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।














0 प्रतिकृया