इक्यान पूर्वाञ्चल अध्यक्षमा भीमबहादुर लिङ्थेपको उम्मेदवारी घोषणा
एक्सन खबर
धरान । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चल शाखाको अध्यक्षमा धरानका भीम बहादुर लिङ्थेपले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार धरानमा पत्रकार सम्मेलन गरी पारामाउण्ट इन्टरनेशनलका सञ्चालक लिङ्थेपले पुस ९ गते हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।
विगत १५ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय लिङ्थेप इक्यान पूर्वाञ्चल तदर्थ कार्य समितिका सचिव समेत भएकाले उनीसँग पूर्वाञ्चलका शैक्षिक परामर्श व्यवसायीलाई एकबद्ध गर्दै शैक्षिक परामर्श क्षेत्रमा विद्यमान समस्या, चुनौतिहरु समाधान गर्न सक्ने व्यक्तिका रुपमा हेरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै लिङ्थेपले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, सू–संस्कृत र ब्यवसायीमैत्री बनाउँन इक्यानले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै पूर्वाञ्चल इक्यानलाई पनि सक्रिय बनाएर अगाडी लैजान आफुले उम्मेदवारी दिएको बताए । ‘पूर्वी नेपालका शैक्षिक परामर्श व्यवसायीहरुका व्यवसायिक हक अधिकारका लागि प्रतिबद्ध ‘इक्यान पूर्वाञ्चल’लाई अझ बलियो, परिस्कृत, प्रविधिमैत्री र ब्यवसायीमैत्री बनाउनु आवश्यक भएकाले मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । मेरो उम्मेदवारीलाई पूर्वाञ्चल इक्यानमा आबद्ध २४ वटै सदस्य संस्था साथीहरुले समर्थन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ सक्षम नेतृत्वबाट नै संस्था गतिशिल हुने भन्दै लिङ्थेपले भने ।
पत्रकार सम्मेलनमा आफुले इक्यानको अध्यक्षको दावेदारी घोषणा गरिरहँदा भीम बहादुर लिङ्थेपले आफ्ना एजेण्डाहरु समेत प्रस्तुत गर्दै इक्यान पूर्वाञ्चललाई आर्थिक रुपमा सवल बनाउन विभिन्न कार्यक्रम गर्ने, लामो समयदेखि रोकिएको टिआइटिआई तालिम मोफसलमै सञ्चालन गर्न पहल गर्ने, प्रत्येक तीन महिनामा शैक्षिक परामर्श सेमिनार, वर्कसप र तालिमहरु सञ्चालन गरी व्यवसायीहरुलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाए ।
त्यस्तै, शैक्षिक परामर्श व्यवसायीहरुका लागि भ्याट सम्बन्धी लेखा परीक्षण तालिम सञ्चालन गर्ने, प्र्रभावकारी रुपमा आइएलटिएस, टोफल, पिटिई तथा जापनीज भाषालगायत अन्य भाषाहरु अध्यापन गराउने विषयमा विज्ञहरुबाट शिक्षकहरुलाई तालिम सञ्चालन गर्ने, शैक्षिक मेला तथा सेमिनारहरु ३÷३ महिनाको क्यालेण्डर नै बनाएर सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सुलभ ब्यवसाय कर्जाको लागि पहल गर्ने, इक्यान पूर्वाञ्चलको छुट्टै वेभसाइट बनाएर सञ्चालन गर्ने समेत घोषणा गरे ।
इक्यान पूर्वाञ्चलको सचिवालयलाई ब्यवस्थित गर्दै कर्मचारी नियुक्त गरी नियमित रुपमा कार्यालय सञ्चालन गर्ने, इक्यान पूर्वाञ्चलको आफ्नै अक्षयकोष स्थापना गरी गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, इक्यानमा सदस्यहरुको संख्या बृद्धिमा जोड दिने लिङ्थेपको योजना छ ।
शैक्षिक परामर्श व्यवसायीहरु विच व्यवसायीक हक अधिकार र समस्याहरुका बारेमा नियमित छलफल गरी समाधानको बाटो पहिल्याउने, विश्वका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरुसँग शैक्षिक सहकार्य गरी डाइरेक्ट एजेन्सी लिने, नयाँ शैक्षिक गन्तब्य देशहरु पहिल्याई उक्त देशमा रहेका कलेज र विश्वविद्यालयहरु सँग कार्य गर्ने, सरकारका सम्बन्धीत निकायसँग सहकार्य, मध्यस्तता गरी शैक्षिक परामर्श ब्यवसायीका कानुनी तथा व्यवहारिक समस्याहरु हल गर्न लागि पर्ने लिङ्थेपले सार्वजनिक गरेका प्रतिबद्धता हुन् ।
साथै, उनले विद्यमान शैक्षिक परामर्श ऐनलाई ब्यवसायी मैत्री बनाउन इक्यान केन्द्रसँग सहकार्य गरी पहल गर्ने, शैक्षिक परामर्श ब्यवसायीहरुको म्यादी जीवन बिमा गर्ने, इक्यानको केन्द्र तथा अन्य शाखाहरुसँग नियमित समन्वय गर्ने, इक्यान पूर्वाञ्चललाई पारदर्शी र सक्षम बनाउने समेत उल्लेख गरेका छन् ।
0 प्रतिकृया