Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


आज ‘क्रिसमस डे’ पर्व, नेपाल सहित विश्वभर मनाइँदै

एक्सन खबर
पौष, ९, २०८०


आज ‘क्रिसमस डे’ पर्व, नेपाल सहित विश्वभर मनाइँदै

काठमाडाैं । आज ‘क्रिसमस डे’ पर्व अर्थात् इसाई  धर्मावलम्बीहरूकाे महान पर्व नेपाल सहित विश्वभर धुमधामका साथ मनाइँदैछ । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा इजरायलकाे जेरूसेलम, बेथलेहममा जिसस क्राइस्टको जन्मदिन भएकाे हाे ।

जिसस क्राइस्टकाे जन्मदिनकाे खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरूसेलमको बेथलेहममा मारियमको कोखबाट जिसस क्राइस्टको जन्म भएको मानिन्छ ।

‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । भने, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिँदै यस पर्वले राष्ट्रिय एकता मजवुत बनाउन सहयाेग पुगेकाे उल्लेख गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्दै यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको राष्ट्रपति पौडेलले बताएका छन् । यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीलाई शुभकामना दिँदै क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताएका छन् ।

उपराष्ट्रपति सहायप्रसाद यादवले क्रिसमस डे नेपालमा मनाइने अन्य पर्वहरू जस्तै प्रेम, हर्षोल्लास र एकजुटताका साथ मनाउने आनन्दमय सामाजिक र सांस्कृतिक उत्सव भएको उल्लेख गर्दै नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचान भएकामा एकता र एकजुटताको भावनालाई बढवा दिने विश्वास व्यक्त गरेका छन् ।

यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।

सभापति देउवाले यी चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन् ।













0 प्रतिकृया