नेपालमै पहिलो पटक केएमसीमा झिकियो भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरीबाट ९ बर्षिया बालिकाको छातीमा जमेको पीप
एक्सन खबर
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले फोक्सोमा जमेको पीप अप्रेसन नगरीकन नै निकाल्न सफल भएको छ । भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधिबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो ।
काठमाडौं मेडिकल कलेजका बालरोग शल्य चिकित्सक डाक्टर आशिष लाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको बताए । डा. आशिष लाल श्रेष्ठका अनुसार ९ वर्षीया बालिका आकृति ठाकुरलाई ज्वरो र वान्ता हुने समस्या भएपछि अस्पताल ल्याइएको थियाे । उनकाे स्वास्थ्य परीक्षण गराउँदा छातीमा निमोनिया पछि पीप जम्ने समस्या भएको पाइएकोले छातीमा जमेको पीप निकाल्न यो प्रविधिबाट उपचार गरिएको डा. श्रेष्ठले बताए । यसअघि यस्तो समस्याको छाती चिरेर अप्रेसन गर्ने गरिन्थ्यो तर यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेसन भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरीबाट पीप बाहिर निकालिएको हाे ।
परम्परागत चिरेर गरिने अप्रेशनबाट बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस प्रविधिले सर्जरी गर्दा कम समयमै बिरामी ठिक हुने र बिरामीलाई कम दुःख हुने डा. श्रेष्ठकाे जिकिर छ । यस सर्जरीको सेवा र अप्रेसन सेवाको खर्चमा खासै फरक छैन । ‘९ वर्षको एउटा बहिनी आउनुभएको छ । उहाँको छातीमा निमोनिया पछि पीप जम्ने समस्या थियो । फोक्सो फुल्न नसक्ने भएकाले त्यो पीप क्लियर गर्नुपर्ने थियो । पीप क्लियर गरेन भने फोक्सो पछि पनि फुक्न नपाउने तथा त्यसमा पनि समस्या आउने र पछि फोक्सो नै निकाल्नु पर्ने हुनसक्ने भएकाले हामीले भ्यास प्रविधिबाट अप्रेसन गर्यौँ ।’ डा. श्रेष्ठले भने, ‘अन्य केसमा छाति नै चिरेर गर्नुपर्ने अवस्था हुँदा बिरामीलाई बढी दुख्ने र घाउ पाक्ने हुन्थ्यो यसबाट अप्रेसन गर्दा त्यस्तो गाह्रो हुँदैन ।’
पहिला प्रविधिको विकास नहुँदा यस्ता जटिल प्रकारका बिरामी अन्यत्र पनि पठाउनु पर्ने बाध्यता अहिले हटेकाे डा. श्रेष्ठकाे भनाइ छ । ‘अहिले काठमाडौं मेडिकल कलेजमै यो सेवा उपलब्ध छ । उसको अवस्था सुधार भएको छ । बिरामीलाई सुलभ भएको छ । फोक्सो पनि फुलेको देखिएको छ । खर्चको हिसाबले दुई चार हजार अन्तर मात्रै छ, तर सामान्य जिन्दगीमा चाँडै फर्किनसक्ने भएकोले यो प्रविधि राम्रो हो ।’
बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वास्थ्य परीक्षणका क्रममा सो रोग पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठिक हुँदै गएको बताए ।
उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताए । ‘घरमा ज्वरो र वान्ता आउँथ्यो, डाक्टरले अप्रेसन गर्नुपर्छ भन्नुभयो, निमोनियाको औषधि लिँदा ठिक भएन, सिटी स्क्यान गर्दा फोक्सोमा पीप जमेको रहेछ । अप्रेसन गर्नुपर्छ भन्नुभयो । केही सामानहरू हामीले खोज्यौँ । सबै सामान नपाएपनि जति पनि सामान उपलब्ध भयो, त्यसले अप्रेसन गर्यौ, अहिले नानी खाना खाने हिँड्ने अवस्थामा पुगिसक्यो ।’ उनले भने ।
0 प्रतिकृया