आज किराँतहरूकाे उधाैली, नेवारकाे यःमरी तथा सनातन धर्मावलम्बीले धान्य पूर्णिमा मनाउँदै
एक्सन खबर
काठमाडाैं । आज किराँत समुदायकाे उधौली पर्व, नेवार समुदायले य:मरी पर्व तथा सनातन धर्मावलम्बी आर्य समुदायमा धान्य पूर्णिमा हर्षाेल्लासका साथ मनाइँदैछ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदाय, नेवारी समुदाय र आर्य समुदायले आ-आफ्नाे रितिथिति र परम्परा अनुसार चाडपर्वहरू मनाउँदैछन् ।
किराँत समुदायमा आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँदै आएका छन् ।
भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ-आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरूपका कामका रूपमा समेत लिइने गरिएकाे छ । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ ।
उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ ।
यस्तै, नेवार समुदायमा आज नयाँ धान भित्र्याएको खुसीयालीमा यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो । नेवार समुदायमा धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन छ ।
यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको छन् ।
आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने गरिन्छ ।
त्यस्तै, सनातनधर्मावलम्बीहरूले आज कूल पूजा गर्ने प्रचलन छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ ।
कृषि, गोरक्षा, पशुहरूको सम्मान गोठपूजा, घरघरमा गैडुपूजाले संस्कार पाएको यस पूर्णिमामा नेपालीहरूका अधिकांश गाउँघरमा गोठ पूजा गर्ने गरिन्छ । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, सिन्धुपाल्चोकको स्फटकेश्वर, नुवाकोटको सिकरबेंसी र दुप्चेश्वरललगायत स्थानमासमेत मेला लाग्दछ ।
उधाैली पर्व, यःमरी र धान्य पूर्णिमाकाे अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले शुभकामना दिएका छन् ।
0 प्रतिकृया