बागमती गाउँपालिकाको गिम्दीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका वडा नं. ७ गिम्दीमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिनामंगल स्थित केएमसीले ज्येष्ठ नागरिक चौतारीसँगको सहकार्यमा नारायणी माध्यामिक विद्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा ९६३ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, १६८ जनाको ल्याब परीक्षण, १३५ जनाको भिडियो एक्सरे तथा २२ जनाको दाँत खोलिएको छ । त्यस्तै उक्त शिविरबाट थप उपचारका लागि ४६ जनालाई ओ.टी. रेफर गरिएको छ ।
शिविरमा केएमसीमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री तथा प्रसुति, बाल रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन विभागका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । केएमसीले नियमित रुपमा गाउँ शहर सबैतिर स्वास्थ्य शिविर आयोजना गर्दा गरिब, विपन्न नागरिक सँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भइरहेका छन् ।
अस्पतालको स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याएर सेवा दिने अभिप्रायले केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरले आम नागरिकलाई स्वास्थ्यमा पहुँच विस्तार गरेकाले केएमसीले नियमित रुपमै निःशुल्क स्वास्थ्य शिविर चलाईरहने जनाएको छ ।
0 प्रतिकृया