नेकमा छात्रवृत्ति पाउन भूकम्प पीडित विद्यार्थीलाई पौष २२ गतेसम्मको समय
काठमाडौं । रुकुमपश्चिम तथा जाजरकोटका भूकम्प पीडितलाई नेपाल इन्जिनियरिङ कलेजले घोषणा गरेको छात्रवृत्तिको लागि पौष २२ गतेसम्म आवेदन दिन पाइने भएको छ । कलेजले कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित रुकुमपश्चिम र जाजरकोट क्षेत्रका ५ जना विद्यार्थीहरुलाई शैक्षिक सत्र २०२३ का लागि पूर्णछात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको थियो ।
कलेजले एक सूचना प्रकाशित गरी उक्त छात्रवृत्तिमा आवेदन दिन चाहने विद्यार्थीहरुले पौष २२ गतेसम्म कलेजमा आवेदन दिन सक्ने जनाएको छ । कलेजले स्नातक तह अन्तरगत आर्किटेक्चर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ ब्याचलर फर डिप्लोमा होल्डर्समा ५ वटा सिटमा कार्यक्रम नदोहोरिने गरी छात्रवृत्ति घोषणा गरेको थियो ।
छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थीले कक्षा ११ र १२ को मार्कसिट, कलेजको प्रवेश परीक्षाको प्राप्त अङ्क, नागरिकता प्रमाणपत्र, भूकम्प प्रभावित क्षेत्रको स्थायी बासिन्दा भएको तथा सम्बन्धीत स्थानीय निकायको भूकम्प पीडित भनी सिफारिस गरेको हुनुपर्ने मापदण्ड बनाएको छ । कलेजको प्रवेश परीक्षामा सहभागी नभएका विद्यार्थीहरुलाई पनि आवेदन दिन खुलाएको छ ।
छात्रवृत्ति प्रवेश परीक्षाको मेरिट सूची अनुसार सूचना प्रकाशित गर्ने तथा छात्रवृत्ति दिँदा भर्नाको लागि सिट बाँकी रहेको हुनुपर्ने कलेजका प्रमुख प्रशासक श्रीमा शर्माले जनाएकी छन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिद्वारा सञ्चालित यो कलेज इन्जिनियरिङ शिक्षा अध्ययनका लागि नेपालकै उत्कृष्ट कलेज हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक, स्नातकोत्तर कार्यक्रमहरु रहेका छन् । कलेजलाई नेपाल इन्जिनियरिङ परिषद्ले समेत स्थायी अनुमति दिँदै आएकाले इन्जिनियरिङ शिक्षा हासिल गर्न यो कलेज विद्यार्थीहरुका लागि उत्कृष्ट गन्तब्य बन्दै गएको छ ।
0 प्रतिकृया