Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


तमु ल्हाेसारकाे अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीले के भने ?

एक्सन खबर
पौष, १५, २०८०


तमु ल्हाेसारकाे अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीले के भने ?

काठमाडाैं । गुरूङ समुदायकाे तमु ल्हाेसारका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, कांग्रेस सभापति लगायतले शुभकामना दिएका छन् । हरेक वर्ष पुस १५ गते मनाइने तमु ल्हाेसारकाे अवसरमा शुभकामना सन्देश दिँदै उनीहरूले पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, भाइचाराकाे सन्देश दिने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्दै राष्ट्रपतिले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

यसै अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको प्रधानमन्त्रीकाे भनाइ छ ।
 
लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस विशेषतालाई आत्मसात गरी देशमा विद्यमान चुनौतीको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।
 
विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको भन्दै प्रधानमन्त्री दाहालले मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ‘तमु ल्होसार’ जस्ता पर्वहरू राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै यस्ता पर्वले विविधतामा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्नमा योगदान पुर्याएको बताएका छन् ।

यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तमु जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताउँदै यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने जनाएका छन् ।













0 प्रतिकृया