बेरोजगार युवाहरुबाट १० करोड भन्दा बढी ठगी गर्ने पक्राउ
एक्सन खबर
काठमाडाैं । बैदेशिक राेजगारीमा पठाइदिने भन्दै बेरोजगार युवाहरुबाट १० करोड भन्दा बढी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेकाे छ । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर कोन्जोसोम गा.पा. वडा नं. १ बस्ने एसइइ स्टार ट्रेनिङ सेन्टर सञ्चालन गर्ने ४७ वर्षीय लाल बहादुर लामालाई पक्राउ गरेकाे हाे ।
लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा पठाइदिने भन्दै ठगी गरेकाे भन्दै पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
लामाले काठमाडाैं महाराजगञ्जमा एसइइ स्टार ट्रेनिङ सेन्टर खोली बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख सम्म लिएका थिए । लामाले ती युवाहरूलाई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको पिडितहरूकाे उजुरी छ ।
पिडितहरुले आफुहरु ठगिएको थाहा पाई वैदेशिक रोजगार विभागमा निवेदन दिएकोमा उक्त ट्रेनिङ सेन्टरका सञ्चालक लामा फरार रहेकोमा पाैष १६ गते काठमाडाैं ३१ शंखमुलबाट नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा निजले धेरै बेरोजगार युवाहरुबाट १० करोड भन्दा बढी रकम उठाएको प्रहरीले जनाएकाे छ । प्रहरीले ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद गरेकाे तथा लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे जनाएकाे छ ।
0 प्रतिकृया