Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिँदै

एक्सन खबर
पौष, २०, २०८०


राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्दैछ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो ।

आज बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिसक्ने र त्यसमा आज दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएकाे छ । उक्त दावी विरोधउपर छानबिन गरी आइतबार (पुस २२ गते) अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरिएकाे छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको आयोगले जनाइसकेकाे छ ।यसअघि प्रदेश सभा सदस्यको मतभार ४८, प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो ।

पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगकाे कार्य तालिका छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र साेहि दिन उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

पुस २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते उम्मेदवारलाई चुनाव चिन्ह दिइनेछ । माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान गर्ने समय तोकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमाले विच राष्ट्रिय सभाकाे निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भइरहेकाे छ ।













0 प्रतिकृया