पार्टी भन्दा माथि उठेर जनताका पक्षमा वकालत गर्ने सांसद सुनिल शर्मालाई धनकुटामा भव्य स्वागत
एक्सन खबर
धनकुटा । जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका प्रभावशाली सांसद डाक्टर सुनिल कुमार शर्मालाई धनकुटामा आज भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङ क्षेत्र नं. ३ का सांसद शर्मालाई धनकुटामा फूलमालासहित भव्य स्वागत गरिएको हो ।
उनको स्वागतमा नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेको छ । सांसद शर्माको फोटोसहितको ब्यानर राखेर कांग्रेसले उनीसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको हो । जनपक्षीय सवालमा गलत गर्ने आफ्नै पार्टीका नेताहरूलाई पनि नछोड्ने उनी अहिले चर्चाको शिखरमा छन् ।
आफ्नै पार्टी सभापतिको कमजोरीमा पनि उनी खुलेर विरोध गर्छन् । उनले आफ्नै पार्टीका अर्थमन्त्रीको विषयमा विरोध जनाए । सत्ता साझेदार दलको सांसद भएर पनि उनी अहिले सरकारको कमजोरीमा खुलेर बोलिरहेका छन् । सरकारले जनपक्षीय काम गर्न नसेको भन्दै उनले यही अवस्थामा कांग्रेसले समर्थन गरेर बसिरहन नहुने तर्क गर्दै आएका छन् ।
धनकुटामा भएको कार्यक्रममा पनि उनले सरकारको विरोध गरे । कार्यकर्ताहरू माझ उनले यही अवस्थामा कांग्रेस सरकारमा बसिरहन उपयुक्त नहुने तर्क राखे, पार्टी नेतृत्वप्रतिको असन्तुष्टि पनि पोखे । नराम्रो काम गर्ने आफ्नै पार्टीका नेता भएपनि नछोड्ने र राम्रो काम गर्ने फरक पार्टीकै मान्छेलाई पनि प्रशंसा गर्ने नेपाली राजनीति भित्रको नौलो र विरलै देखिने स्वभावका कारण उनी जनप्रिय बन्दै गएका छन् ।
नेपाली राजनीतिमा पनि उनको प्रभाव बढ्दै गएको छ । उनले पाउँदै आएको सम्मानले पनि यो कुरा प्रस्ट्याएको छ । सांसद शर्माले प्रतिनिधि सभाबाट अहिलेसम्म कुनै पनि तलब सेवा सुविधा नलिइकन जनताकाे पक्षमा काम गरिरहेका छन् । पछिल्लाे समय देशका विभिन्न भू–भागकाे भ्रमणमा निस्किएका उनी आजबाट पूर्वी पहाडी जिल्लाहरूकाे भ्रमणमा छन् ।
सांसद शर्मा धनकुटा, भाेजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्जेजुङ हुँदै इलामसम्म कांग्रेसका कार्यकर्तासँगै जनतासँग साक्षात्कारमा निस्किएका हुन् ।
0 प्रतिकृया