राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै
एक्सन खबर
काठमाडाैं । सत्ता गठबन्धनविच राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न आज पनि बैठक बस्दै छ । माओवादी केन्द्रका महासचिव देव गुरूङका अनुसार सत्ता गठबन्धनकाे आज बस्ने बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने छ । बैठकको समय टुंगो लागिसकेकाे छैन ।
शनिबार राति अबेरसम्मकाे छलफलमा कुनै निर्णय हुन नसकेपछि आज साँझसम्म उम्मेदवारी बाँडफाँट टुंग्याउने रणनीति बनाइएकाे छ । रिक्त १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ स्थान पाउने गरी प्रस्ताव अघि सारिएकोमा एकीकृत समाजवादीले सहमती जनाएकाे छैन । एकीकृत समाजवादीले तीन सिटमा दावी गरिरहेकाे छ ।
आजकाे बैठकमा अध्यक्ष नेपाललाई राखेर सिट बाँडफाँटकाे प्रस्तावलाई अन्तिम रूप दिइने गठबन्धनको तयारी छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) , नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टीले पनि राष्ट्रिय सभाकाे निर्वाचनमा भाग खोजेपनि उनीहरूलाई सिट नदिने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले भनिसकेका छन् ।
एमाले एक्लै चुनावमा जाने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाका १९ सिटमा एक्लै उम्मेदवार उठाउने भएको छ । सत्ता गठबन्धनसँग मिलेर चुनाव लड्दा गलत सन्देश जाने भन्दै एमालेले एक्लै चुनावमा जाने निर्णय गरेकाे हाे ।
पार्टीकाे केन्द्रीय सचिवालयकाे बैठकले राष्ट्रिय सभाकाे निर्वाचनमा एक्लै चुनावमा जाने निर्णय गरेकाे हाे । संक्रमणकालीन न्यायको मुद्दालाई टुंगोमा पुर्याउन एमाले सहमत भए राष्ट्रिय सभामा साझेदारी गर्न सकिने प्रस्ताव सत्ता गठबन्धनले गरेकोमा गठबन्धनमा रहेको एकीकृत समाजवादीले आपत्ति जनाए पछि एमाले एक्लै चुनाबमा जाने भएकाे हाे ।
एमालेलाई समेटेर लैजान कांग्रेस, माओवादी केन्द्र र जसपा तयार भएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै राष्ट्रिय सभामा सहकार्य गर्न एमालेसँग प्रस्ताव गरेका थिए ।
0 प्रतिकृया