कांग्रेसले सुरु गर्यो स्वस्थ्य नागरिक समुन्नत समाजको अभियान
एक्सन खबर
धरान । नेपाली कांग्रेसले नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान सुरु गरेको छ । कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आफु अन्तर्गतको क्षेत्रीय स्वास्थ्य विभागको संयोजन र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान शुरु गरेको हो ।
“स्वस्थ्य नागरिक समुन्नत समाज” भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताएका छन् । उनले नागरिक स्वस्थ्य भयो भने मात्र समृद्धि सम्भव हुने भन्दै समुन्नत समाज निर्माण गर्न नागरिकलाई स्वस्थ्य बनाउन जरुरी रहेको बताए । निःशुल्क स्वास्थ्य शिविर र अन्य विविध स्वास्थ्य सम्बन्धि कार्यक्रम गरी नागरिकलाई स्वस्थ्य बनाउन र समुन्नत समाज निर्माण गर्न कांग्रेसले सञ्चालन गरेको अभियानले महत्वपूर्ण टेवा पुग्ने तामाङको भनाई छ ।
क्षेत्रीय सभापति तामाङको अध्यक्षतामा भएको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले जनताको घर आँगनमा स्वास्थ्य शिविर सञ्चालन गरेर पार्टीले सामाजिक उत्तरदायित्व वहन गरेको बताए । हरेक जनतालाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन कांग्रेस, क्षेत्र नं. १, सुनसरीले सुरु गरेको स्वस्थ्य नागरिक समुन्नत समाज अभियानले महत्वपूर्ण सहयोग पुग्ने प्रदेश महामन्त्री थापाले बताए ।
बराहक्षेत्र नगरपालिकाको वडा नं. १ देखि ५ तथा रामधुनी नगरपालिकाको वडा नं. ६ र ७ लाई लक्षित गरी बराहक्षेत्र वडा नं. ३ स्थित अस्थायी कोभिड अस्पतालमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सिकहरुले सेवा दिएका थिए ।
शिविरमा ग्याष्ट्रोलोजी एण्ड हेपेटोलोजी विशेषज्ञ डा. सन्दिप राज बज्राचार्य सहितको टोलीले पेट, ग्याष्ट्रिक, पेनक्रियाज, ठूलो आन्द्रा, पेटको क्यान्सर, दिसावाट रगत जाने र सुगर तथा प्रेसर लगायतका रोगहरुको जाँच गरेका थिए । शिविरवाट निःशुल्क स्वास्थ्य जाँच र औषधि प्राप्त गरी १९४ जना लाभान्वित भएको कांग्रेसका क्षेत्रीय सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताए ।
यस अघि वी.पी. प्रतिष्ठानको स्ट्रोक टिमको सहयोगमा धरान उपमहानगरपालिकाका वडा नं. ३, ८ र १५ मा समेत अभियान सञ्चालन गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए । शिविरमा बराहक्षेत्र वडा नं. ३ र ५ तथा अमर पोलिक्लिनिक, धरान १८ को सहयोग रहेको क्षेत्रीय सहसचिव सुमित राईले बताए ।
0 प्रतिकृया