इटहरीमा नोबेलको मुटुरोग सम्बन्धी बिशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरः सयौं विरामीहरु लाभान्वित
एक्सन खबर
विराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । ‘स्वस्थ्य मुटु स्वस्थ्य जीवन’ भन्ने मूल मन्त्रका साथ नोबेलले मुटु रोगको विशेषज्ञ सहितकाे स्वास्थ्य शिविरको आयोजना गर्दै आउने क्रममा पौष २१ गते शनिबार इटहरी उपमहानगरपालिका वडा नं. ५ मा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल विकास संस्था, इटहरी ५ को संयुक्त आयोजनामा सञ्चालित उक्त शिविरमा ३३२ जना मुटु रोगको विरामीहरुको परीक्षण र उपचार गरिएको नोवेलका जनसम्पर्क अधिकारी नविन दाहालले बताए ।
नोबेलको मुटुरोग विभागका प्रमुख प्रा. डा. राजेश नेपाल, अर्का मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल र अन्य मुटुरोग विशेषज्ञ चिकित्सक सहित ८ जना चिकित्सकको स्वास्थ्य टोलीले विरामीहरुको परीक्षण, इकोकार्डियोग्राम, इसीजी र परामर्श सेवा प्रदान गरेको थियो । शिविरमा ३३२ जना विरामीको निःशुल्क इकोकार्डियाग्राम र २२५ जनाको ईसीजी गरिएको छ ।
आफ्नै ठाँउमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन पाँउदा त्यसमा पनि इको, इसीजी निःशुल्क भएकोले विरामीहरुलाई ठूलो सहयोग पुग्न गएको र भविष्यमा अनुकुल मिलाएर नोवेलको सहकार्यमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्ने योजना रहेको आयोजकले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नंं ५ का वडा अध्यक्ष, तुलसा टोल विकास संस्थाका पदाधिकारीहरु र अधिकारी मेडिकोका सञ्चालकको उपस्थिति रहेको थियो । मन्तव्य व्यक्त गर्दै डा. राजेश नेपालले स्व. कुमार अधिकारीकोे उपचारमा आफु संलग्न भएको स्मरण गर्दै प्राय विरामीहरुले सोध्ने गरेको हार्ट अट्याकको बारेमा जानकारी दिए ।
‘हार्ट अट्याक भनेको भुईचालो आएको जस्तो हो । भुईचालो कसैलाई थाहा नदिई आउने गर्दछ त्यस्तै हार्ट अट्याक पनि अप्रत्यासित हुने गर्दछ । तर कसैलाई हिँड्दा या काम गर्दा छाती भारी हुनु र बसेपछि आराम हुनु भनेको हार्ट अट्याक हुनु भन्दा अगाडिको लक्षण हो ।’ डा. नेपालले शिविरमा भने ।
हार्ट अट्याक भई सकेपछि छाति एक दमै दुख्ने तथा लगातार दुखी रहने डा. नेपालकाे भनाइ छ । यसैगरी छाति पोले जस्तो र छातिमा भारी बस्तुले किचे जस्तो हुन्छ । दुखाई देब्रे हात तिर सरेर जान्छ र बढी कान्छि औंला तिर दुख्ने गर्छ । कसै कसैलाई बङ्गारा तिर पनि दुख्छ । जिउ लल्याक लुलुक हुनु, रिङ्गटा लाग्नु, वाकवाकी लाग्नु हार्ट अट्याकको लक्षण हुन् । ईसीजी गरेर हेर्दा यो प्रष्ट देखिन्छ । तर ग्याष्ट्रिक भयो भनेर मानिसहरु झुक्किने गर्दछन् ।
‘चिकित्सक पनि झुक्किएका छन् । हार्ट अट्याक भयो भने अथवा लक्षण देखियो भने घण्टा घण्टाको अझ भनौ मिनेट मिनेटको महत्व हुन्छ । जति सक्दो चाँडो अस्पताल लगेर उपचार सुरु गर्नु पर्छ । यो भनेको आगो लाग्यो भने दमकल कहिले बोलाउने हो भने जस्तै हो । जति सक्दो चाँडो दमकल बोलायो क्षति त्यति कम गर्न सकिन्छ । त्यस्तै हार्ट अट्याक भएका विरामीलाई जति सक्दो चाँडो अस्पताल लान सकियो त्यसले गर्ने क्षति त्यति कम गर्न सकिन्छ ।’ डा. नेपालले भने ।
विश्वमा सवै भन्दा बढी मानिसको मृत्यु हुने पनि मुटु रोग कै कारणले हो भने समयमा रोग पत्ता लागेमा मुटु रोगको उपचार सम्भव छ । नेपाल सरकार र प्रदेश सरकारले मुटु रोगको उपचारमा सहुलियत र आर्थिक सहयोग गर्ने उल्लेख गर्दै नोवेलमा आउने विरामीहरुले पैसा कै कारण उपचारबाट अहिले सम्म बञ्चित हुन नपरेको डा. नेपालले बताए ।
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत मुटु रोग उपचारमा एक लाख बराबरको सहुलियत प्राप्त हुने गरेको छ ।
0 प्रतिकृया