Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


सिटाैलासहित कांग्रेसले छान्यो राष्ट्रिय सभाका १० उम्मेदवार, महामन्त्री थापाकाे फरक मत

एक्सन खबर
पौष, २३, २०८०


सिटाैलासहित कांग्रेसले छान्यो राष्ट्रिय सभाका १० उम्मेदवार, महामन्त्री थापाकाे फरक मत

काठमाडाैं । माघ ११ गते हुन गइरहेकाे राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले  उम्मेदवार चयन गरेको छ । सोमबार बिहान कांग्रेसले काेशीमा कृष्णप्रसाद सिटाैलालाई उम्मेदवार बनाउँदै १० उम्मेदवार चयन गरेकाे हो ।

कांग्रेसले दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका सिटाैलालाई काेशीबाट अन्यमा राष्ट्रिय सभा उम्मेदवार चयन गरेकाे हाे । उनी राष्ट्रिय सभा अध्यक्षका प्रमुख दावेदार हुन् । अन्यबाटै मधेसमा कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयाेजक समेत रहेका आनन्द प्रसाद ढुंगाना उम्मेदवार भएका छन् । उनी संस्थापन पक्षका हुन् ।

कांग्रेसले बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेकाे कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पाैडेलद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् भने बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल तरूण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी संस्थापनइतर र बस्नेत संस्थापन पक्षबाट उम्मेदवार भएका हुन् ।

यस्तै, गण्डकीमा अन्यबाट गाेरखाका किरणबाबु श्रेष्ठ र अपाङ्गता/अल्पसख्यकबाट तनहुँका पदमबहादुर परियार उम्मेदवार भएका छन् । गोरखाका श्रेष्ठ गण्डकी कांग्रेस महामन्त्री हुन्। लुम्बिनीमा महिलाबाट विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी संस्थापनइतर पक्षकी हुन् ।

कर्णालीमा अन्यबाट कांग्रेस कर्णाली महामन्त्री कृष्णबहादुर रोकाया उम्मेदवार भएका छन् । भने, सुदूरपश्चिममा कैलाली कांग्रेस सभापति नारायणदत्त भट्ट र कांग्रेस कञ्चनपुरका पूर्वसभापति बलदेव बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनीहरू दुवै संस्थापन पक्षका हुन् ।

महामन्त्री गगन थापाकाे लिखित फरक मत

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनमा मापदण्ड विपरित उम्मेदवार चयन गरिएकाेमा कांग्रेस महामन्त्री गगन थापाले लिखित रूपमै फरक मत राखेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले माैखिक रूपमा ६ वटा असहमति जनाएका छन् । भने,  कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीले मधेसमा मधेसले नै प्रतिनिधित्व नपाएकाे तर्क गर्दै उम्मेदवार छनोट न्यायपूर्ण नभएकोमा असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय कार्यसमितिको पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले 'हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने' गरी मापदण्ड तय गरे पनि लागू नभएकोमा महामन्त्री थापाले दुई बुँदे फरक मत राखेका छन् ।

'संसदीय बोर्डको आजको बैठकले उम्मेदवार चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन, यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।' संसदीय बाेर्डमा महामन्त्री थापाले लेखेका छन् ।

यद्यपि, पार्टीभित्र बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने महामन्त्री थापाले उल्लेख गर्दै यस्ता निर्णयले पार्टीमा कुनै आग्रह नराखीकन निर्णय हुन्छ र सबैलाई न्याय तथा अवसर मिल्छ भन्ने विश्वासलाई पुन: खण्डित गरेको थापाको भनाइ छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबन्डा गरेर उम्मेदवारी दिने सहमति भएको छ । निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै सिटमा उम्मेदवार चयन गरेकाे छ ।














0 प्रतिकृया