‘लिटल बुद्ध’ उर्फ रामबहादुर बम्जनबाट ३ कराेड बराबर नगद, कराेडाैंकाे गाडी, १४ वटा माेवाइल बरामद
एक्सन खबर
काठमाडौँ । ‘लिटल बुद्ध’ भनिने बलात्कार र हत्या आराेपित ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले बम्जनको साथबाट ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको समेत जानकारी दियाे ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीले बम्जनबाट विभिन्न १७ देशका विदेशी मुद्रासहित उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको जानकारी दिए । बम्जनलाई मंगलबार बेलुकी करिब ७:१५ बजे बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएकाे हाे । प्रहरीले उनको साथबाट १४ थान मोबाइल समेत बरामद गरेको छ ।
बम्जनलाई खाेज्न ‘अपरेशन ब्लू’ नाम दिएर सीआईबीका २५ जना सुरक्षाकर्मी परिचालन गरेकाे थियाे । बम्जनसँग तुलाराम भण्डारीकाे नाममा रहेकाे टोयोटाको प्रदेश–३–०१–०२४ च ६७२९ नम्बरको कराेडाैं पर्ने फर्चुनर गाडी सहित ४ वटा माेटरसाइकल समेत प्रहरीले बरामद गरेकाे छ ।
२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध यौन शोषणको उजुरी दिएपछि बाल यौन शोषण गरेको मुद्दामा पक्राउ पर्ने डरले फरार रहेका उनलाई पक्राउ गर्न नेपाल प्रहरीलाई ४ वर्ष लागेकाे छ ।
बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६–१०–२३ अनुमति दिएको थियो । भने, प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६–१०–२४ पत्राचार गरेकाे थियाे ।
0 प्रतिकृया