Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय फैसला, लामिछाने पुनरावेदन जाने

एक्सन खबर
पौष, २५, २०८०


क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय फैसला, लामिछाने पुनरावेदन जाने

काठमाडौं । जिल्ला अदालतले बलात्कार कसुरमा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेकाे छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले उनीविरुद्ध ८ वर्ष कैद सजाय ३ लाख जरिवाना तथा पिडीतलाई २ लाख क्षतिपूर्ति भराउन सजाय निर्धारण गरेका हुन् ।

गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेकोमा आज सजाय फैसला गरेकाे हाे । क्रिकेटर लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको जिल्ला अदालतको ठहर छ ।

जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले बताएका छन् । जिल्लाकाे फैसला आए लगत्तै उनले उच्च अदालत जाने भनेका हुन् ।

पीडितलाई क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको अदालतको ठहर गरेको छ । ‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम (गौशाला २६) को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१),(२) र ३(ङ) बमोजिमको कसुर ठहर्छ,’ गत १३ गते अदालतको फैसलामा भनिएको छ ।

तर, पीडित नाबालिग नभएको पुष्टि भएकाले सोही संहितको २१९ (३) (घ) बमोजिमको कसुर भनेर हुन नसक्ने अदालतले ठहर गरेको छ ।

लामिछानेले भदौ ५ गते काठमाडाैंकाे तिलगंगाको एक होटलमा लगि बलात्कार गरेको पीडित युवतिको जाहेरीमा उल्लेख थियो । तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो भने उनी स्वदेश फर्कने क्रममा असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकोमा भाेली पल्ट काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।

जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएपनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । जबरजस्ती करणीको कसुरमा उनी दोषी ठहर भएपनि जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण उनलाई अधिकतम १० वर्ष कैद सजाय हुने र सो बापत हुनसक्ने अधिकतम जरिवाना र कैदवापतको रकम पनि धरौटीमा रहेको कारण उनले थुना बाहिरै रहेर पुनरावेदन गर्न पाउँछन् ।

जिल्ला अदालतले कैद सजाय सुनाए पनि पुनरावेदन गर्ने म्याद ७० दिन र थप ३० दिन गरी १०० दिनकाे अवधिभरि लामिछाने पक्राउ पर्दैनन् ।













0 प्रतिकृया