Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नेपाल मेडिकल कलेज सुधार्न वडा नं. ८ सँग छलफल

एक्सन खबर
पौष, २६, २०८०


नेपाल मेडिकल कलेज सुधार्न वडा नं. ८ सँग छलफल

काठमाडौं । नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गोकर्णेश्वर नगरपालिका वडा नं. ८ सँग छलफल भएको छ । गोकर्णेश्वर नगरपालिकाकै गौरबको रुपमा रहेको नेपाल मेडिकल कलेजले प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी बनाउन कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारी तथा वडाध्यक्ष नन्दलाल श्रेष्ठविच छलफल भएको हो ।

बुधबार वडा कार्यालयले प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीलाई स्वागत गर्दै नगरबासीको स्वास्थ्य सुरक्षाका लागि आफुहरु सचेत रहेको बताउँदै कलेजसँग सहकार्य, समन्वय गरेर जाने बताएकाे छ । नगरबासीलाई रोग लाग्न नदिनु नगरको प्राथमिकता भएको भन्दै श्रेष्ठले आउँदा दिनहरुमा नगरभित्र निःशुल्क स्वास्थ्य शिविर चलाउन आग्रह गर्दै त्यसकालागि नगरपालिका, वडा कार्यालयले आवश्यक सहयोग र सहकार्य गर्ने पनि बताए ।

‘नेपाल मेडिकल कलेज हाम्रो गौरब हो । यसको स्वास्थ्य सेवा सुधार गरेर विक्रिति विसंगतिहरु अन्त्य गर्दै अगाडी बढ्न हाम्रो सदैव साथ र समर्थन रहन्छ ।’ वडाध्यक्ष श्रेष्ठले भने । कलेजको इमरजेन्सी सेवा सुधार्न सिनियर डाक्टरहरुको व्यवस्था गर्नुपर्ने, नयाँ नयाँ स्वास्थ्य उपकरण ल्याउनु पर्नेमा उनको जोड थियो ।

कलेजका प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले सबैको साथ र सहयोग लिएर कलेजको स्तरोन्नती गरिने बताउँदै समस्या पहिचान गरी आवश्यक रणनीति बनाएर अगाडी बढ्ने बताए । इमरजेन्सीको सेवालाई प्रभावकारी बनाउन चाडैं नै नियमावली बनाउने, डाक्टरहरुको समुचित ब्यवस्थापन गर्ने बताउँदै उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि नीजि मेडिकल कलेजका समस्याहरु समाधानमा गम्भिर बन्नुपर्ने बताए ।

कलेजले नेपाल सरकारका कार्यक्रमहरु चलाइरहेपनि लामो समयदेखि सरकारबाट पैसा नपाउँदा समस्या भइरहेको जनाउँदै प्रा.डा. अन्सारीले स्थानीय सरकारले पनि त्यसमा समन्वयकारी भूमिका निर्वाह गरिदिए सहज हुने उल्लेख गरे । ‘सरकारले स्वास्थ्य बीमाको पैसा दिएको छैन, एक वर्ष भयो डायलाइसिस गरेको भुक्तानी भएको छैन । स्थानीय सरकारले पनि मेडिकल कलेजका समस्या हल गर्न पहल गरिदिनु पर्यो ।’ जनतालाई बढीभन्दा बढी सेवा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको जनाउँदै प्रा.डा. अन्सारीले कलेजमा अत्याधुनिक एमआरआई, सिटी स्क्यान लगायतका उपकरणहरु भित्र्याउन योजना बनाइरहेको बताए ।

जनतालाई राम्रो डेलिभरी दिन आफुहरु प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रा.डा. अन्सारीले देश विकास र जनताको सेवामा सरकार पनि प्रतिबद्ध नहुनु दुःखद रहेको जिकीर गरे । राज्यलाई हरेक व्यवसायीले कर तिरेपनि त्यसको सही सदुपयोग समेत नभएको भन्दै उनले सरकारले स्वास्थ्य बीमामा जनताबाट १९ अर्ब उठाएपनि अस्पतालहरुलाई दिनुपर्ने १३ अर्ब नदिएको दाबी गरे । ‘स्वास्थ्य बीमामा १९ अर्ब उठेको छ । अस्पतालहरुलाई १३ अर्ब सरकारले दिनुपर्नेमा अहिले बजेट छैन भनिरहेका छन् । जनतालाई डेलिभरी दिने सवालमा सरकार गम्भिर नहुँदा समस्या भयो ।’

त्यस्तै प्रा.डा. अन्सारीले नेपाली विद्यार्थीलाई निःशुल्क मेडिकल शिक्षा प्रदान गर्न आफुहरुले सरकारलाई दिएको सुझाब कार्यान्वयन नगर्दा नेपाली विद्यार्थीहरुले आज ४८ लाखसम्म तिरेर मेडिकल शिक्षा अध्ययन गरिरहनु परेको बताए । राष्ट्रिय योजना आयोगलाई समेत नेपालको मेडिकल शिक्षामा केके गर्न सकिन्छ ? कसरी विदेशी विद्यार्थी आकर्षित गर्न सकिन्छ भनेर आफुहरुले सुझाब दिएपनि कसैको चासो नपरेको उनको तर्क छ ।

निजी क्षेत्रले गर्न खोजेपनि सरकारले अनेकन नियम बनाएर दुखः दिएको भन्दै प्रा.डा. अन्सारीले निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । साथै, उनले एउटा सरकारले सुरु गरेको राम्रो काम अर्को सरकारले बन्द गर्दा जनताले दुखः पाएको भन्दै अस्थिर सरकारका कारण पनि मुलुक अगाडी बढ्न नसकेको बताए ।

छलफलमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का दलित महिला सदस्य सोविता मिजार, नेपाल मेडिकल कलेजका अस्पताल निर्देशकद्वय डा. राजेश किशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, निर्देशक साविहा यासमिन, बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्का लगायत सहभागी थिए ।















0 प्रतिकृया