Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, राप्रपाकाे चियापान पनि

एक्सन खबर
पौष, २७, २०८०


आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, राप्रपाकाे चियापान पनि

काठमाडाैं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइँदैछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । आज मुलुककाे प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । यसका अलावा देशभर विभिन्न संघ संस्था तथा राजनीतिक दलहरूले पृथ्वी जयन्ती बनाउँने गर्दछन् ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रममा श्रद्धासुमन अर्पण गरिन्छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्र मध्ये नेपाल पनि रहन पुगेकाे हाे ।

विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनमा समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।

नेपाली सेनाले पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

उनको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरुले शुभकामना सन्देश दिएका छन् ।उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान गर्दैछ । चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत ८ हजारलाई निमन्त्रणा गरिएको छ ।

चियापान समारोह अघि सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्ने कार्यक्रम छ । राप्रपाले यसअघि गरेको कविता प्रतियोगिताको पुरस्कार पनि आजै वितरण गर्नेछ । प्रतियोगितामा रूकुम पश्चिमका उमेश पुन मगरको कविता ‘देशभित्र देखेको देश’प्रथम, कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय भएको छ।













0 प्रतिकृया