Follow us:


Follow us

१९ असोज २०८१, शनिवार
१९ असोज २०८१, शनिवार


आज माघे संक्रान्ति, माघी र सार ल्हेस पर्व, सार्वजनिक विदा

एक्सन खबर
माघ, १, २०८०


आज माघे संक्रान्ति, माघी र सार ल्हेस पर्व, सार्वजनिक विदा

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले आजकाे दिनलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । भूमिपुत्रका रूपमा परिचित थारू समुदायले आजकाे दिन माघी पर्वका रूपमा मनाउने गर्दछन् । भने, मगर समुदायले पनि आजै सार ल्हेस पर्व मनाउने गर्दछन् ।

सरकारले आज  देशभर सार्वजनिक विदा दिएकाे छ । आज काठमाडौंको टुँडिखेलमा थारू तथा मगर समुदायले विशेष कार्यक्रम आयोजना गर्दै शुभकामना साटासाट गर्दैछन् ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने र  उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने विश्वास छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । यस्तै, माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी जस्ता परिकार खाने चलन छ ।

थारू समुदाय कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो । जसका कारण माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको हाे । माघीमा ढिक्री, घोंगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ । सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

माघे सङ्क्रान्ति, माघी पर्व लगायतका अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति रामसहायप्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले शुभकामना व्यक्त गरेका छन् ।













0 प्रतिकृया