मेलम्चीकाे पानी काठमाडाैं उपत्यकामा पुनः वितरण सुरू
एक्सन खबर
काठमाडाैं । २०७८ सालकाे वर्षायाममा मेलम्ची खोलामा आएको बाढी पहिरोपछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त पश्चात अबरूद्ध मेलम्चीकाे पानी पुनः काठमाडाैं उपत्यकामा वितरण सुरू गरिएकाे छ ।
साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरकाे धाराबाट पानी खाँदै मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरे । साे क्रममा प्रधानमन्त्रीले अब काठमाडाैं उपत्यकामा नियमित पानी वितरण गरिने बताए ।
‘काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ,’ उनले भने ।‘ आयोजनाको दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने र हाल प्रयोग हुँदै आएको बैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिइएकाे प्रधानमन्त्री दाहालकाे भनाइ छ ।
सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगे पछि प्रसाेधन गरिएपछि वितरण गरिएकाे खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । उनका अनुसार अब अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने छ ।
मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई प्रधानमन्त्रीले निर्देशन दिएपछि मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो ।
बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो ।
२ वर्षअघि असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ ।
0 प्रतिकृया