गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्डको आवेदन खुल्ला
एक्सन खबर
काठमाडाैं । नेपाल एक्टिभ प्रोडक्सनले पहिलोपटक गर्न लागेको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को आवेदन फारम खुल्ला गरिएको छ । फारम भर्न गीतको नाम वा युट्युब लिंक, सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर आवश्यक छ । २०७९ सालदेखि २०८० पौष १५ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीत र फिल्मले अवार्डमा भाग लिन पाउनेछन् ।
गीत संगीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको नेपाल एक्टिभ प्रोडक्सनका निर्देशक सुर्य मम्बा तामाङले बताए । यस्तै नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धनका साथै कलाकारहरुको मनोबललाई उच्च बनाउन कार्यक्रमको आयोजना गरिएको उनकाे भनाइ छ ।
यसैगरी सांगीतिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । आधुनिक, लोक, पप, लोकदोहोरी, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने छ ।
गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, मोडल सहित विभिन्न ५६ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट-५ नोमिनेशन आगामी माघ तेश्रो साताभित्र सार्वजनिक गरिने छ भने अवार्ड समारोह फागुनमा काठमाडौँमा आयोजना हुनेछ ।
0 प्रतिकृया