Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


आजदेखि राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू (के-के गर्न पाइन्न ?)

एक्सन खबर
माघ, २, २०८०


आजदेखि राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू (के-के गर्न पाइन्न ?)

काठमाडौँ । माघ ११ गते १९ सिटका लागि हुन गइरहेकाे राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार आयोगले मंगलबारदेखि माघ १२ गतेसम्म निर्वाचन आचारसंहिता लागू गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आचारसंहिताको दफा १ मा उल्लेख भएबमोजिम सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचार संहिता जारी भएको छ ।

आचारसंहिता लागू भएपछि अब कुनैपनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन ।

कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा  विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन हुँदैन ।

आयोगका अनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन ।

यस्तै, प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुनेगरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,  सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन समेत नपाउने आयोगकाे आचारसंहितामा उल्लेख छ ।

निर्वाचनमा सरकारी श्राेत साधनकाे प्रयाेग गर्न निषेध छ । निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने तथा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न पाइनेछैन ।

निर्वाचनमा सत्ता गठबन्धनले १९ सिटमा भागबन्डामा उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै स्थानमा उम्मेद्वार चयन गरेकाे छ ।













0 प्रतिकृया