रास्वपाकाे दबाब यात्रामा २७ आयोजना प्रारम्भिक सूचीमा
एक्सन खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लामाे समयदेखि अधुरा रहेका आयोजना पुरा गर्दा सुरू गर्न लागेकाे दबाब यात्रामा २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । गएराति सम्पन्न केन्द्रीय समितिको बैठकले लामाे समयदेखि निर्माण भइरहेकाे तर पुरा हुन नसकेका आयोजनाहरू पुरा गर्न दबाब दिन कार्यक्रम गर्ने निर्णय गरेको हाे ।
प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राख्दै अन्य आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न पार्टीले ६ सदस्यीय कार्यदल पनि गठन गरेको छ । गठित कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन् ।
आयोजनाको प्रारम्भिक सूचीमा पहिलाे नम्बरमा गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेेसी-रसुवागढी सडक, दाेश्राे नम्बरमा मेलम्ची खानेपानी आयोजना, तेश्राे नम्बरमा ११ किलाे-छेपेटार-भालुस्वारा-वारपाक सडक र चाैथाे नम्बरमा टनकपुर लिंक राेड छन् । रास्वपाले हुलाकी राजमार्ग, भेडेटार-रबी-राँके सडक, कमला पुल, जनकपुर परिक्रमा सडक, तिनकुने पुल, ग्वार्काे फ्लाइ ओभर, धरहरा लगायतका आयोजनाहरू समावेश गरेकाे छ ।
विभिन्न मितिमा ठेक्का लागेपनि निर्माण कार्य सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले रास्वपाले दबाब यात्रा गर्न लागेको हो । आयोजनाहरू निर्धारित मितिमै सम्पन्न नहुँदा लागत बढ्ने तथा जनताले सास्ती खेपिरहनु परेकाेमा पार्टीले दबाब कार्यक्रम बनाएकाे हाे ।
यसअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढ-बुटवल सडकखण्डमा पदयात्रा गरेको थियाे । पटक-पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा दबाब यात्रा गरेर सरकारलाई खबरदारी गर्न लागिएकाे रास्वपाका उपसभापति डीपी अर्याल बताएका छन् ।
दबाब यात्रामा केन्द्रीय नेता र सांसदहरु र कार्यकर्ताहरू सहभागी हुनेछन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ जना सांसदले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए ।
0 प्रतिकृया